धरान उपमहानगरमा कांग्रेसको अग्रता‚ एमाले तेस्रो स्थानमा
सुनसरीको धरान उपमहानगरपालिकामा तीन हजार ५०० मतगणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राईले अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राईले एक हजार ३४० प्राप्त गरेका छन्।
दोस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका छन्। नेकपा (एमाले) की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन्।
उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन्। अहिले वडा नम्बर १, २ र ३ को मतगणना जारी छ। यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा १ र २ कांग्रेस र ३ एमालेले विजय गरेका वडा हुन्।
वडा नम्बर २ मा एमालेका राई विजयी
वडा नम्बर २ को वडाध्यक्ष पदमा एमालेका रमेश राई ६९५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गरेका छन्।
सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यस वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो। -रासस