टीकापुर-५ मा रेशम चौधरीको पार्टीको प्यानल नै विजयी
कैलालीको टीकापुर नगरपालिका-५ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी भएको छ।
वडाध्यक्ष बलवीर थारू सहित उनको प्यानल विजयी भएको हो। थारूले ८२० मत प्राप्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टी तीन महीनाअघि स्थापना भएको हो। पार्टीका नेता निलम्बित सांसद चौधरी भने कारागारमा छन्।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा सुरक्षाकर्मी सहित नौ जनाको ज्यान गएको थियो। त्यसमा निलम्बित सांसद चौधरी सहित ५८ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो। जसमा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।
त्यसका विरुद्ध उनी सर्वोच्च अदालतमा पुगेका छन्। उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ भने उनी जेल सजाय भोगिरहेका छन्।