स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ।
स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ। तीमध्ये प्रदेश नं। १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो।
निर्वाचन आयोगका अनुसार जेठ १ गते निर्वाचन हुने मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ।
जेठ २ गते निर्वाचन हुने मतदानस्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन् । जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशबाहेकका छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ मतदान केन्द्रमा मतदान स्थगन भएको जनाएको छ। पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आँकलन गर्न निर्देशन दिएको छ। रासस