काठमाडौंमा बालेन साह ९५ मतले अगाडि
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ९५ मतको अग्रता बनाएका छन्।
शनिबार राति ९:४५ बजेसम्म १७ सय ८१ मत गणना भएको छ। जसमा साहले ५८३ मत पाएका छन्।
त्यस्तै, दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ४८८ मत पाएका छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४० मत पाएकी छन्।
स्वतन्त्र उम्मेदवार साहले शुरूआतबाटै अग्रता बनाउँदै लगेका छन्। अहिले काठमाडौं वडा नं. १, २ र ३२ को मतगणना भइरहेको छ।
काठमाडौंमा एक लाख ९० हजार १७० मत खसेका छन्।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए। उनले ६४ हजार ९१३, नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९, विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ र स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए।