मतगणना सुस्त: एउटा मतपत्र गन्न १५ देखि २० मिनेट
वैशाख ३० गते मतदान भएको स्थानीय निर्वाचनको मतगणना निकै सुस्त छ।
७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ।
कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ। त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ।
काठमाडौ महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो। सर्वदलीय सहमतिमा शनिबार बिहान १० बजेदेखि शुरु भएको मतगणनाअन्तर्गत साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनिएको छ। यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै दिन लाग्नेछ।
अन्य महानगरको हालत पनि उस्तै छ। ललितपुर महानगरमा त काठमाडौँको भन्दा अझै सुस्त भएको पाइएको छ। मध्याह्न १२ बजेदेखि गणना शुरु भएको ललितपुरमा यो समाचार तयार पार्दासम्म जम्मा ४०० मत गनिएको छ।
ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता रहेको छ। वडा नं १ को गणनामा महर्जनले २०५ मत ल्याउँदा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत प्राप्त गरेका छन्।
अहिलेसम्म प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ। यद्यपि धेरै पालिकामा मतगणना जारी छ। जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै प्रतिस्पर्धा देखिएको छ।
काठमाडौँ उपत्यकामा भने स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले शुरुआतदेखि नै अग्रता लिनुभएको छ। साँझ ७ बजेसम्मको मतगणनामा उनले ४०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिएका एमालेबाट प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३१९ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेस नेत्री सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छन्।
चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । उक्त महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ।
बिहान गन्न थालेको विराटनगर महानगरपालिकाले पनि साँझसम्म एक हजार हाराहारीमा मात्रै मतगणना गरेको छ। पोखरा महानगरपालिकामा अपराह्न ४ः३० बजेदेखि गणना थालिएकामा गणनाको गति त्यहाँ पनि सुस्त नै छ। गणनाको गति बढाउने प्रयास थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन्।
दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा थिए। विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए। निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ। राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७९ मतदान केन्द्रमा मतदान स्थगित भएको छ। –रासस