पाँचपोखरीमा ‘बुथ क्याप्चर’को विवादले मतगणना अनिश्चित
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा विवाद साम्य नहुँदा स्थानीय तह चुनावको मतगणना अनिश्चित भएको छ।
३० वैशाखमा मतदानका क्रममा नेकपा (एमाले) र राप्रपाका कार्यकर्ताले ‘बुथ क्याप्चर’ गरेको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले विरोध जनाएपछि विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपको रुप लिएको थियो। जसले गर्दा मतदान स्थगित गरिएको थियो।
कतिपय ठाउँमा मतगणना भइसक्दा पनि पाँचपोखरीमा भने सहमति जुट्न सकेको छैन। कांग्रेस र माओवादीले पुनः मतदान गर्नुपर्ने माग गरेका छन् भने एमाले र राप्रपाले मत गणना गर्नुपर्ने माग गरेका छन्। जसले गर्दा सहमति जुट्न सकेको छैन।
पाँचपोखरीमा सगरमाथा आरोही माया गुरुङ अध्यक्षमा स्वतन्त्र उम्मेदवार छिन्। त्यस्तै, राप्रपाबाट उदय सापकोटा, एमालेबाट टासी लामा, माओवादीबाट दोर्जे तामाङ र नेकपा (एकीकृत समाजवादी) बाट तेजबहादुर भुजेल उम्मेदवार छन्। माओवादी र कांग्रेसले तालमेल गरेका छन्।