विराटनगरमा उपेन्द्र यादवका छोरा पछाडि
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)ले अग्रता लिएका छन्।
सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइरालाले र उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी हुन्। शनिबार साँझ ७ः४५ बजेसम्म तीन हजार एक सय मत गणना भएका छन्।
मेयरमा कांग्रेसका कोइरालाले एक हजार ३८ र एमालेका सागर थापाले ७७४ मत पाएका छन्।
त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले २७७ मत पाएका छन्। जसपा पूर्व जिल्ला अध्यक्ष हुन्।
त्यस्तै, उपमेयरमा एमालेकी कार्कीले ८५३ र गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ५४४ मत पाएका छन्। यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेत्री नमिता न्यौपानेले १६८ मत पाएकी छन्। उनी माओवादी विराटनगर उपमहानगर कमिटीकी उपाध्यक्ष हुन्।