काठमाडौंमा बालेन साहको अग्रता कायमै
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) साहले अग्रता कायमै राखेका छन्।
शनिबार साँझ ६:४५ बजेसम्मको मतगणनाअनुसार, उनले ४०२ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले ३१९ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ५३ र विवेकशील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।
अहिलेसम्म वडा नंं १, २ र ३२ का ११ सय ८० गणना भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. १ का ५००, वडा नं. २ का १८० र वडा नंं ३२ का ५०० मत गणना भएका छन्।
काठमाडौंमा एक लाख ९० हजार १७० मत खसेका छन्।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए। उनले ६४ हजार ९१३, नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९, विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ र स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए।