बचेरा कोरल्दै आगन्तुक चरा
अधिकांश चराको बच्चा कोरल्ने समय वैशाख-जेठ हो। यहि समयमा आगन्तुक चरा नेपाल आउने गरेका छन्।
प्राणीको बसाइँसराइको इतिहास उत्पत्ति जत्तिकै आदिम छ। मानिसहरूले सेवासुविधाको खोजीमा बसाइँसराइ गर्दै आएका छन् भने चराहरू आफ्नो जैविक चक्र अनुसरण गर्दै बसाइँसराइ गरिरहेका हुन्छन्। विश्वमा पाइने ११ हजार बढी चरा प्रजातिमा झण्डै ४० प्रतिशत चरा नियमित रूपमा एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गरिरहन्छन्।
हिमाली हावापानी र जैविक विविधताले सम्पन्न नेपालमा विश्वका अनेकौं ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन्। त्यस्ता चरा दुई पटक नेपाल आउने गरेका छन्, हिउँदमा र गर्मीमा। हिउँदमा आउने चरा आफ्ना वासस्थानमा अत्यधिक चिसोले तालतलैया जम्न थालेपछि यता आउँछन्। रसियाको साइबेरिया तथा मंगोलियाबाट नेपाल हुँदै भारत लगायत गर्मी ठाउँमा जाने ती चरा जलपन्छी हुन्।
त्यस्तै, वैशाख-जेठमा नेपालतिर आउने चरा भने दक्षिणी मुलुक भारत, श्रीलंका, दक्षिण-पूर्वी एशियाली मुलुक र कहिलेकाहीं अफ्रिकाबाट पनि गर्मी छल्न आउने गरेका छन्। “यी चरा मुख्यतः वनजङ्गल र कृषि क्षेत्रमा बस्छन्,” पन्छीविद् कृष्णप्रसाद भुसाल भन्छन्, “यिनीहरू यहाँ आउनुको मुख्य कारण बच्चा कोरल्नु र गर्मी छल्नु हो।”
गर्मीयाममा बसाइँ आउने चराहरूमा कोइलीका केही प्रजाति, स्वर्गचरी, सुनचरी र बकुल्ला उल्लेख्य छन्। “यस वेला नेपालमा आउने चराहरूमा पहेंलो जुन बकुल्ला (एल्लो बिट्रेन) र रातो जुन बकुल्ला (सिनामेन बिट्रेन) हुन् भने अर्को आकर्षक चरा चाहिं स्वर्गचरी (एशियन प्याराडाइज फ्लाईक्याचर) हो,” पन्छीविद् हेमबहादुर कटुवाल भन्छन्।
काठमाडौंको उत्तरी भित्ता झोर इलाकामा यो वेला स्वर्गचरी गुँड बनाएर बच्चा कोरल्न व्यस्त भएको कटुवाल बताउँछन्। “झोर बाहेक शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि स्वर्गचरी पाइन्छ,” कटुवालको भनाइ छ, “हिउँदे चरा जत्तिको गर्मीमा आउने चराको अवस्थाबारे अध्ययन भएको छैन। यद्यपि, हालसम्मको तथ्याङ्कमा गर्मीमा आउने चराको सङ्ख्या ६० भन्दा बढी छ।”
हिउँदे चरा ठूलो सङ्ख्यामा हुलका हुल आउने गरेका छन् भने गर्मीयाममा आउने चरा ससाना झुन्डमा थोरै सङ्ख्यामा आउँछन्। “हिउँदे चरा जति गर्मीका चरा तुलनात्मक रूपमा कम सङ्कटापन्न छन्,” भुसाल जनाउँछन्।
अधिकांश चराको बच्चा कोरल्ने समय वैशाख-जेठ हो। आगन्तुक चरा पनि बच्चा कोरल्न नै आउने गरेका छन्। चराहरूले वंशानुगत गुणका आधारमा सदियौंदेखि बसाइँसराइको परम्परालाई निरन्तरता दिइरहेका हुन्छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार, नेपालमा पाइने आठ सय ८८ प्रजातिका चरामध्ये ६ सय रैथाने प्रजाति हुन्। हिउँदमा डेढ सय र गर्मीमा करीब ६५ पाहुना चरा नेपाल आउँछन्।
नेपालमा चरालाई नियमित आगन्तुक, फिरन्ते र बटुवाको सूचीमा सूचीकृत गरिएको छ। नेपालमा हिउँद ऋतु र वसन्त ऋतुमा 'नियमित आगन्तुक', कहिलेकाहीं मात्रै देखिने 'फिरन्ते' र नेपालको बाटो हुँदै अन्य मुलुक बसाइँ जाने 'बटुवा चरा' पाइन्छन्।
गर्मीयाममा आउने आगन्तुक चरामा कोइली, मुरलीचरा, फिस्टा, अर्जुनक र चिबे आदि पर्ने नेपालका चराहरूको सन् २०२१ को संस्करणमा उल्लेख छ। पुस्तकमा गर्मीयाममा आउने चराका धेरै प्रजातिले उपमाद्वीपको दक्षिण क्षेत्रमा बिताउने गरेको र तिनमा फाप्रे चरा, निलपुच्छ्रे मुरली चरा, धुसर अर्जुनक र स्वर्गचरी आदि भएको जनाइएको छ। ‘यिनीहरूमध्ये केही ग्रीष्म आगन्तुकहरूको हिउँदे थलोबारे नगण्य जानकारी छ। उदाहरणको लागि पूर्वीय कोइली, पुच्छरकापे गौंथली, ध्वाँसे अर्जुनक आदि। अरु प्रजातिहरू दक्षिणपूर्वतिर शायद मलाया र इन्डोनेसियासम्म पुग्ने गर्दछन्, उदाहरणका लागि कागठूँडे चिबे र चित्रपट्टा साथै सानो कोइली र खैरो गौंथली अफ्रिकासम्म पुग्ने गरेको’ पुस्तकमा उल्लेख छ। जुरे कोइली अफ्रिका महादेशबाट करीब पाँच हजार किलोमिटर दूरी पार गर्दै नेपाल आउँछ। खैरो गौंथली १० महीनासम्म आकाशमा उडेको उड्यै गर्न सक्छ।
चराले वंशानुगत गुणकै आधारमा बसाइँसराइ गर्ने र दिशा पत्ता लगाउने गरेको हुन्छ। चराले बसाइँसराइ गर्दा उपयोग गर्ने मार्गलाई ‘फ्लाई वे’ (उडान मार्ग) भनिन्छ । हालसम्म विश्वभर यस्ता उडानमार्ग नौ वटा रहेको पत्ता लागेको छ। नेपाल मध्य-एशियाली उडान मार्गमा पर्दछ। बसाइँसराइका लागि चराले लामो दूरी उडान भर्न दिशा तथा बाटो पहिल्याउन सूर्य, तारा तथा नदी, भौगोलिक परिवेश, चुम्बकीय दिशाको सहायता लिन्छ।
विश्वभर मे १४ लाई गर्मीयामको चरा गणनाको दिनका रूपमा ‘विश्व बसाइँसराइ चरा दिवस’ मनाउने गरिएको छ। यस पटकको गणना दिवसको नारा ‘चराका लागि रातको कृत्रिम उज्यालो कम गरौं’ भन्ने छ। चराले बसाइँसराइका लागि रातको समय रोज्ने भएकाले कृत्रिम उज्यालोले उनीहरूको आवागमनका असर परेको भन्दै ‘वर्ल्ड माइग्रेटरी बर्ड डे’ ले कृत्रिम उज्यालोलाई न्यूनीकरण गर्न सो नारा तोकेको हो।
ग्रीष्मकालीन बसाइँसराइ दिवसकै अवसर पारेर चरा गणना पनि गर्ने गरिन्छ। स्थानीय क्षेत्रको पर्यावरणबारे बुझ्न पनि चरा गणना गर्ने चलन छ। गणनाबाट प्राप्त तथ्याङ्कले पर्यावरणका सम्भावित समस्या पहिचान गर्न सहयोग गर्छ। चराको वासस्थानबारेको ज्ञानले नीति निर्माणलाई पनि मार्गनिर्देश गर्छ।
चरा सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘बर्ड इन्टरन्याशनल’ सँग आबद्ध नेपाली संस्था ‘नेपाल पंछी संरक्षण संघ’ ले बसाइँसराइ दिवसका अवसरमा भारत र भुटानका पन्छी संरक्षण संस्थासँगको सहकार्यमा हिमाली चरा गणना कार्यक्रम आयोजना गरेको छ। हिमाली क्षेत्रका चराहरूको त्रिदेशीय सहकार्यमा गणना पहिलो पटक आयोजना गरिएको संघले आफ्नो विज्ञप्तिमा जनाएको छ।
हिमाली चराका विविधताबारे जनचेतना जगाउन भारतीय उपमहाद्वीपमा ‘रैथाने चरा दिवस’ का रूपमा पनि मनाइने मे १४ कै अवसरमा गणना गरिएको हो। ‘हिमालयन बर्ड काउन्टले जलवायुजन्य असरबाट खतरामा परेका चराका विविधताबारे जानकारी दिन्छ। जसले यस क्षेत्रमा वर्षौंदेखि के भइरहेको छ भन्ने बुझ्ने आधार दिन्छ,’ भारतीय इकोलोजिस्ट गजला शाहबुद्दीनले विज्ञप्तिमा भनेकी छिन्। द्रुततर तापमान वृद्धिको समग्र असर र अवस्था तथा चराहरूमा परेको प्रभावबारे सो गणनाले मार्गनिर्देश गर्ने संघको अपेक्षा छ।
चराका विष्टा कृषि भूमिका लागि लाभदायक मानिन्छ भने चराले कीराफट्याङग्रा र गँड्यौला व्यवस्थापनमा पनि ठूलो योगदान पुर्याएको हुन्छ। विश्वका अन्य हजारौं प्राणीको तुलनामा चराको सङ्ख्या र वितरण सानो देखिए पनि चराको स्वास्थ्य, सङ्ख्या र वितरणले समग्र वातावरणको सङ्केत गर्ने हुँदा चरालाई पर्यावरणको सूचक मानिन्छ। पर्यावरण विषयमा कलम चलाउने बाङ्लादेशी पत्रकार अबिदा रहमान चौधरी भन्छिन्, “चराहरू प्रकृतिका चेतावनी दिने घण्टी सरह हुन्। यदि चराले कुनै ठाउँ छोडे भने त्यो ठाउँ स्वास्थ्य छैन, केही समस्या छ भन्ने बुझ्नुपर्छ।”
पोखरामा पनि बसाइँसराइका दिन चरा अवलोकनका काम गरिएको पन्छीविद् मनशान्त घिमिरेले बताए। “पोखरामा संरक्षित क्षेत्र नभएकाले चरा संरक्षणका लागि जनचेतना जगाउने कामलाई हामीले निरन्तरता दिंदै आएका छौं,” घिमिरेले भने, “पोखरामा राष्ट्रिय आँकडा अनुसारका सबै प्रजातिका ग्रीष्मकालीन चरा नआए पनि हाराहारी पचास प्रजाति आउने गरेको देखिन्छ।”
नेपालका चराहरू पाइने स्थानमध्ये कपिलवस्तुको जगदीशपुर तालमा चराको सङ्ख्या र प्रजाति घट्ने-बढ्ने भइरहेको छ भने सुनसरीको बर्जु, कोशी टप्पु, पोखराका सिमसार, काठमाडौंको टौदह र बागमती क्षेत्रमा आगन्तुक जलपन्छीको सङ्ख्या भने घटेको देखिन्छ। यो घट्ने क्रम विगत १५ देखि २० वर्षमा उच्च भएको हो।
बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास, सिमसार क्षेत्रको विनाश, पानीको स्रोतमा मनोरञ्जनका गतिविधि सञ्चालन आदिका कारण बसाइँसराइमा आउने चरा सङ्कटमा परेका हुन्। उपर्युक्त क्रियाकलापले चराका वासस्थान विनाश हुने र उनीहरूको आहारा पाउने ठाउँ हराउँदै गएको छ।
“नेपालमा बसाइँ आउने चरा खास गरी वासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग र सिमसार क्षेत्रको अतिक्रमण, वन डढेलो, अवैध चरा शिकार जस्ता कारणले सङ्कटमा परेका छन्,” भुसाल भन्छन्, “चरा डढेलोमा पर्दा बचेरा मात्र होइन, माउ पनि मृत्युको मुखमा पर्छन्। वासस्थानमा आइरहेको तीव्र परिवर्तन र वन डढेलो यी चराका लागि मुख्य चुनौती हुन्।”
तसर्थ, बसाइँसराइका लागि चरा आइरहने वातावरण बनाउन स्थानीय तहका नव निर्वाचित नेतृत्वले पनि सोच्नुपर्छ र तिनलाई झकझक्याउने काम हामी सबैको हो।