१० स्थानीय तहको मतगणना सम्पन्न, कुन दलले कति जिते?
स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार दिउँसो २ बजेसम्म १० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ।
अन्तिम मतपरिणाम सार्वजनिक भएका १० स्थानीय तहमध्ये नेकपा (एमाले) ले पाँच, नेपाली कांग्रेसले तीन र नेकपा (एकीकृत समाजवादी) ले दुई स्थानीय तहमा जित हासिल गरेका छन्।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले विजयी भएका छन्। मनाङकै चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन्।
त्यस्तै, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका छन् भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेका रिङजिन नामगेल गुरुङ विजयी भएका छन्। डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा एमालेका धावा सम्डुङ गुरुङ विजयी भएका छन्।
मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् भने नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। यस्तै, मुस्ताङको घरपोझङ गाउँपालिकामा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्।
एकीकृत समाजवादीका सेनाङ गुरुङले डोल्पाको छार्का साङतोङ गाउँपालिकामा जितेका छन्। डोल्पाको काइके गाउँपालिकामा पनि एकीकृत समाजवादीका अंगदकुमार राना विजयी भएका छन्।
अन्य स्थानीय तहमा मतगणना जारी छ। केही स्थानीय तहमा मतपेटिका सङ्कलन भइरहेको छ।