मकवानपुरगढीमा विवाद, मतगणना रोकियो
मतगणनामा सहभागी कर्मचारीका विषयमा विवाद उत्पन्न भएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना रोकिएको छ।
मतगणनाका क्रममा विवाद भएपछि तत्कालका लागि रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गाउँपालिका कर्मचारीलाई मतगणनामा सहभागी गराएपछि विवाद उत्पन्न भएको हो।
सर्वदलीय बैठकले मतगणनाको समयमा गाउँपालिकाको जिन्सी शाखा प्रमुख युवराज पौडेललाई सहभागी नगराउने सहमति भएको थियो। तर, उनलाई मतगणनाका क्रममा भित्र पठाएको भन्दै विरोध भएपछि विवाद शुरू भएको हो।
विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ। स्थानीय बासिन्दाले मतगणना स्थल बाहिर नाराबाजी गरिरहेका छन्।
अहिलेसम्म गाउँपालिकाको वडा नंं १ र ८ को मतगणनामा गठबन्धनका उम्मेदवार अगाडि छन्। अहिलेसम्म गणना भएको आठ सय मतमा गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १७४ र एमालेका विदुर हुमागाईंले ९० मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा गठबन्धनबाट माओवादीकी मानकुमारी पाख्रिन नेपालीले १५१ र एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छन्।