भरतपुर महानगरमा मतगणना शुरू
चितवनको भरतपुर महानगरपालिकामा मतगणना शुरू भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुरले शनिबार बिहान ११:५० बजेदेखि मतगणना शुरू भएको जानकारी दिएको छ। मतगणना स्थलमा कुर्सी तथा बेन्च राख्ने विषयमा विवाद हुँदा ढिलाइ भएको थियो।
बेन्च राख्दा बार नाघेर मतगणना गरिएकै ठाउँमा जान सक्ने भन्दै विवाद भएको हो। कार्पेट ओछ्याएर बस्ने सहमति भएपछि मतगणना शुरू गरिएको छ।
२९ वडा रहेको भरतपुरमा वडा नं १ बाट मतगणना शुरू गरिएको छ। भरतपुरमा ६८.६७ प्रतिशत मत खसेको छ। एक लाख ८५ हजार ७५१ मतदाता रहेकामा एक लाख २७ हजार ५६६ मत खसेको हो।
भरतपुर-१३ मा सबैभन्दा बढी ७४.११ प्रतिशत र भरतपुर-१० मा ६२.६७ प्रतिशत मत खसेको छ। १५ वटा वडामा ७० प्रतिशतभन्दा बढी मत खसेको छ।
भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट रेणु दाहाल, नेकपा (एमाले) का तर्फबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल प्रतिस्पर्धामा छन्।
२०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्। उनले ४३ हजार १२७, नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ र राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए।