जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।
मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता लिएका हुन्। जनकपुरधाम उपमहानगरपालिका–१ बाट मतगणना शुरू भएको छ।
अहिलेसम्म सात सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले २३२ मत पाएका छन्। उनले कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार शिवशंकर साह हिराले ९५, स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३, गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३४, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ४१ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले २७ मत प्राप्त गरेका छन्।
गठबन्धनबाट उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका किशोरी साहले अग्रता लिएका छन्। साहले १६२ मत ल्याउँदा एमालेकी रुना झाले ४६, लोसपाकी रिताकुमारी मिश्रले २३ र स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले २६ मत प्राप्त गरेका छन्।
जनकपुरधाम-४ स्थित महेन्द्रनारायण निधि सांस्कृतिक भवनमा जनकपुरधामको २५ मध्ये अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ।
२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका लालकिशोर साह मेयरमा निर्वाचित भएका थिए। उनले २१ हजार ९०३, नेपाली कांग्रेसका मनोज कुमार साह सुडीले ११ हजार १६४, नेकपा (एमाले) का लक्ष्मीनारायण भगतले चार हजार ८६५ र संघीय समाजवादी पार्टीका विष्णुदेव साहले तीन हजार ६१२ मत पाएका थिए।