काठमाडौं महानगरपालिकाको मतगणना शुरू
काठमाडौं महानगरपालिकाको मतगणना शुरू भएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिबार बिहान १० बजेदेखि शुरू भएको हो।
वडा नम्बर १ बाट मतगणना शुरू गरिएको छ। प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा गणना भइरहेको छ।
महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह‚ नेकपा (एमाले) बाट केशव स्थापित‚ राप्रपाबाट मदनदास श्रेष्ठ‚ स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटा लगायत ५५ जना मेयरका उम्मेदवार छन्।
तीन लाखभन्दा मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए। उनले ६४ हजार ९१३, नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९, विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ र स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए।