मकवानपुरमा मतगणना शुरू, गठबन्धनको अग्रता
मकवानपुरमा स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना शुरू भएको छ।
जिल्लाको भीमफेदी र मनहरी गाउँपालिकाहरूमा बिहान ६ बजेसम्मको नतीजामा गठबन्धनले अग्रता लिएको छ।
भीमफेदी गाउँपालिकामा ८११ मत गणना गर्दा गठबन्धनका अध्यक्षले ४०५, उपाध्यक्षले ४११ र नेकपा एमाले अध्यक्षले ३१५ उपाध्यक्षले ३०५ मत पाएका छन्।
यसैगरी, मनहरी गाउँपालिकामा गठबन्धनले १४२ र एमालेले ६४ मत पाएका छन्। बागमती गाउँपालिका,मकवानपुरगढी गाउँपालिका, थाहा नगरपालिका लगायतमा भने केही बेरमा मतगणना शुरू गरिंदै छ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार, हेटौंडा उपमहानगरपालिकाको मतगणनाको कार्य उम्मेदवारबीचको सहमतिपछि मात्रै शुरू हुनेछ।
हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाको मतगणनाका लागि हेटौंडाको सिद्धार्थ माविमा चार वटा कोठा तयार पारिएको छ। हेटौंडाका १, २, १८, १९ नम्बर वडाको एकसाथ गणना शुरू गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए। मतगणनामा खटिने गणकहरू क्रमशः अभ्यस्त हुँदै जाँदा मतगणनाको कार्य छिटो हुने श्रेष्ठले बताए।
मकवानपुरमा ७० प्रतिशत मतदान भएको थियो। मतगणना स्थललाई सुरक्षित बनाउन सिसिक्यामेरा र तारजालीको व्यवस्थापन गरिएको छ।