देशभरका ७७ मतदान केन्द्रमा मतदान स्थगित
स्थानीय तह निर्वाचन अन्तर्गत देशका विभिन्न जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगन भएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, मतदानका क्रममा १६ जिल्लामा विवाद उत्पन्न भएको छ। विवाद उत्पन्न भएका २८ स्थानीय तहका ७७ मतदान केन्द्र रहेका छन्। जहाँ मतदान स्थगन भएको प्रवक्ता पौडेलले बताए।
मतदान स्थगन भएका केन्द्रमा सम्बिन्धत मतदान अधिकृतले कुनै पनि समयमा पुनः मतदान गराउन सक्ने आयोगले जनाएको छ। कहिले मतदान गराउने भन्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई दिइएको छ।
आयोगका अनुसार, लुम्बिनी र गण्डकी प्रदेशमा विवाद भएको रिपोर्ट आएको छैन। अन्य पाँच प्रदेशमा भने विवादका घटना आएको आयोगले जनाएको छ।
त्यस्तै, राति १० बजेसम्म आएको विवरण अनुसार देशभर ६४ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका छन्। अझै पनि कतिपय स्थानीय तहका मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको उनले बताए।
देशभर छिटपुट बाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ।