मधेशका आठ केन्द्रको मतदान स्थगित
मधेश प्रदेशमा छिटपुट घटना सहित स्थानीय तहको मतदान सम्पन्न भएको छ भने आठ केन्द्रमा मतदान स्थगन गरिएको छ।
मधेश प्रदेशका जिल्लामा छिटपुट घटना सहित करीब ७० प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालयको अनुमान छ। निर्वाचनमा शुक्रबार बिहानैदेखि उत्साहपूर्ण सहभागिता रहेको थियो। दिउँसो हावाहुरीसँगै वर्षा भएपछि केही मतदान केन्द्रमा अबेरसम्म मतदान भएको छ।
मधेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै, महोत्तरी, बारा र पर्सामा ७०-७० प्रतिशत, धनुषामा ६६ र रौतहतमा ६५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
मधेशका केही मतदान स्थलमा विवाद हुँदा मतदान नै स्थगन भएको छ। बाराका चार वटा मतदान केन्द्रमा विवादका कारण मतदान स्थगन गर्नुपरेको मतदान अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए।
त्यस्तै, रौतहटका तीन वटा मतदान केन्द्रमा मतदान स्थगन गरिएको मतदान अधिकृत छोटेलाल दासले जानकारी दिए। उनका अनुसार, रौतहटको बौधीमाई नगरपालिका-२ स्थित इनरवारी प्रावि मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र र गरुडाको शंकर प्रावि मतदान केन्द्रको मतदान स्थगन भएको छ।
सप्तरीको एक मतदान स्थलको मतदान पनि स्थगन गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए। सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित मतदान केन्द्रमा मतदान स्थगन भएको हो। अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान भएको छ।