रसुवाको लाङटाङमा ८३ प्रतिशत मत खस्यो
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ। कुल ३६३ मतदातामध्ये १६२ पुरुष र १४० महिला गरी ३०२ जनाले मतदान गरेका छन्।
सामुदायिक भवन मतदान केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान सकिएको र मतदानपछिका काम भइरहेको मतदान अधिकृत गोपी विश्वकर्माले बताए। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म भएको थियो।
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले लाङटाङको मतपेटिका भोलि मात्र आइपुग्ने जानकारी दिए। “पहिले हेलिकोप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी थियो,” उनले भने, “पछिल्लो समय मान्छेले नै ढुवानी गर्न सर्कुलर भयो।” लाङटाङको मतपेटिका ल्याएपछि पालिकाको मतगणना शुरू हुनेछ।
रसुवामा यस पटक ३४ वटा मतदान स्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा आठ वटा मतदान स्थल र नौ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र पाँच वटा मतदान केन्द्र तोकिएका थिए।
जिल्लामा ३८ हजार ५४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६८९ पुरुष र १८ हजार ८८५ महिला रहेका छन्।