अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान
स्थानीय तह निर्वाचनमा शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगमा प्राप्त तथ्याङ्क अनुसार, ५५ प्रतिशत मतदान भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको उनले बताए।
शुक्रबार बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो। साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। साँझ ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले भोट हालिनसक्दासम्म मतदान जारी रहने उनले बताए।
स्थानीय तह निर्वाचनका लागि देशभर १० हजार ७५६ मतदान स्थल तोकिएका छन्। मतदाताको सहजताका लागि २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ।
देशका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन्। त्यसमध्ये ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्। यस पटक एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्।