सप्तरीको डाक्नेश्वरीमा चुनाव रोकियो, १ जेठमा पुन: मतदान हुने
मतदान अधिकृतमाथि कुटपिट भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदान केन्द्रमा चुनाव रोकिएको छ। अब १ जेठमा पुन: मतदान हुने भएको छ।
हरिरबा जनता मावि मतदान केन्द्रमा केही व्यक्तिले मतपेटिका तोडफोड गरेका थिए। उनीहरूले मतदान अधिकृत विपिन यादवमाथि कुटपिट गरेका थिए।
त्यसपछि मतदान स्थगन भएको थियो। अब १ जेठमा मतदान गर्ने सर्वपक्षीय निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए।
कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएका छन्। उनको राजविराजमा उपचार भइरहेको निर्वाचन अधिकृत मगरले बताए।
यो केन्द्रमा आज दुई हजारभन्दा बढी मत खसिसकेका थिए। एकाएक केही व्यक्तिले मतपेटिका तोडफोड गर्नुका साथै मतदान अधिकृतमाथि हातपात गरेका थिए।
अहिले स्थिति सामान्य भइसकेको र सर्वपक्षीय सहमतिका आधारमा मतदान सारिएको निर्वाचन अधिकृत मगरले बताए।