दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान
स्थानीय तह निर्वाचनमा शुक्रबार दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगमा दिउँसो २ बजेसम्म प्राप्त तथ्याङ्क अनुसार, ४१ प्रतिशत मतदान भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। केही स्थानमा छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए।
आज बिहान ७ बजेदेखि देशभरका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा मात्रै मतदान पछि सारिएको छ। दुवै स्थानमा उम्मेदवारको मृत्यु भएपछि मतदान जेठ ३ गते सारिएको छ।