रौतहटमा झडप हुँदा १५ जना घाइते, महोत्तरी र सर्लाहीमा मतदान अवरुद्ध
रौतहटमा झडप हुँदा १५ जना घाइते भएकका छन्। महोत्तरी र सर्लाहीमा केही समय मतदान अवरुद्ध भएको थियो।
उम्मेदवारका समर्थकबीच झडप हुँदा रौतहटमा १५ जना घाइते भएकका छन्। गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।
गढीमाई–६ सिंगारवनमा नेकपा (एकीकृत समाजवादी) का वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी गरिएको छ। विवादले उग्र रूप लिएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ।
त्यसै गरी महोत्तरीको गौशाला नगरपालिका–९ स्थित विषहरपुर मतदान केन्द्रमा एक घण्टा मतदान प्रक्रिया अवरुद्ध बनेको थियो। एक मतदाताका साथबाट दुई वटा मतपत्र फेला परेपछि विवाद भएको थियो। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार‚ विवाद मिलाएर पुनः मतदान शुरू भएको छ।
सर्लाहीको कौडेना गाउँपालिकामा विवादका कारण रोकिएको मतदान पुनः शुरू भएको छ। कौडेना–६ को श्री जनता आधारभूत विद्यालय मतदान स्थलमा नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो।