सर्लाहीमा मतदान अधिकृत पक्राउ, सप्तरीमा अधिकृतमाथि कुटपिट
सर्लाहीमा एक जना मतदान अधिकृत पक्राउ परेका छन् भने सप्तरीमा मतदान अधिकृतलाई कुटपिट गरिएको छ।
सर्लाहीको बलरा नगरपालिका-३ स्वास्थ्य चौकीका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो। गलत गतिविधि गरिरहेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।
मतदान अधिकृत साहले मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि विवाद भएको थियो। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। मतदान अधिकृत पक्राउ परेपछि अहिले मतदान स्थगन भएको छ।
त्यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिले मतपेटिका तोडफोड गरेका छन्। उनीहरूले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट गरेका छन्।
कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए। उनलाई उपचारका लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि मतदान स्थगन भएको छ।