सातामा दुई दिन बिदाले उत्साहित पर्यटन व्यवसायी
सातामा दुई दिन बिदा दिने सरकारको निर्णयपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। कोभिड–१९ महामारीका कारण थलिएर भर्खर तङ्ग्रिन थलिएको पर्यटन क्षेत्रलाई दुईदिने बिदाले सहयोग पुग्ने उनीहरूले आशा राखेका छन्।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। सातामा दुई दिन बिदा हुँदा पर्यटन क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रलाई पनि सहयोग पुग्ने होटल एशोसिएशन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्। कोभिड–१९ को प्रकोप कम भएसँगै चितवन, पोखरा, नगरकोट, धुलिखेल लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेको र दुईदिने बिदाले यसमा अझ सहयोग पुग्ने उनको भनाइ छ।
“हप्तामा दुई दिनको बिदाले आन्तरिक पर्यटक बढ्छन्,” वरिष्ठ उपाध्यक्ष शाह भन्छन्, “सरकारको यो निर्णय स्वागत गर्छौं।” आन्तरिक पर्यटक बढाउन होटल, एअरलायन्स, ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ सबै क्षेत्रले प्याकेजको व्यवस्था गरेको उनले बताए।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई पनि दुईदिने बिदाले आन्तरिक पर्यटक बढ्ने बताउँछन्। “अहिले पनि शुक्रबार र शनिबार आन्तरिक पर्यटकको उपस्थिति राम्रो छ,” उनी भन्छन्, “आइतबार पनि बिदा दिंदा त्यसले थप सहयोग पुग्नेमा हामी आशावादी छौं।”
पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटक बढ्दै गएका छन्। दुईदिने बिदाले आन्तरिक पर्यटक झन् बढ्ने बताउँछन् पोखरा पर्यटन परिषद् (पीटीसी) का अध्यक्ष गोपीबहादुर भट्टराई। यसले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उनको भनाइ छ। पोखरा सहित आसपासका क्षेत्रमा विदेशी र आन्तरिक पर्यटक साहसिक पर्यटकीय गतिविधिमा रमाउने गरेको भट्टराई जनाउँछन्। भन्छन्, “पहिलेको भन्दा अहिले बढी खर्च गर्ने खालको पर्यटक आउने गरेको अनुभव गरिएको छ।”
पर्यटन क्षेत्रको क्षति रिकभर गर्न दुई दिन बिदाः पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक मणिराज लामिछाने कोभिड-१९ महामारीले पर्यटन क्षेत्र तहसनहस भएपछि सातामा दुई दिन बिदा दिन माग गरेको बताउँछन्। दुईदिने बिदाले आन्तरिक पर्यटक थपिने र थलिएको पर्यटन क्षेत्र तङ्ग्रिन सहयोग पुग्ने उनको भनाइ छ।
“अहिले ६० प्रतिशत मात्र विदेशी पर्यटक आएका छन्‚” लामिछाने भन्छन्‚ “दुईदिने बिदाले आन्तरिक पर्यटक बढ्ने भएकाले त्यसमा केही रिकभर हुने आशा लिएका छौं।”
उनका अनुसार‚ पर्यटन बोर्डले भारत, बाङ्लादेश र श्रीलङ्काको पर्यटकलाई लक्षित गरेर कार्यक्रम गरेको छ। विदेशी पर्यटक बढी भित्र्याउन सके व्यापार घाटा कम गर्न सकिने लामिछानेको भनाइ छ।
कोभिड सङ्क्रमण दर कम भएसँगै विदेशी पर्यटक बढेको पर्यटन बोर्डले जनाएको छ। २०२२ को चौमासिकमा एक लाख ३७ हजार ९५ जना विदेशी पर्यटक भित्रिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो।
२०२२ को पहिलो चौमासिकमा भित्रिएका पर्यटकमध्ये भारतका ४७ हजार ४०४‚ श्रीलङ्काका ५४१, बाङ्लादेशका पाँच हजार ८१३, अमेरिकाका १८ हजार ६६३, बेलायतका १३ हजार ३२२ र चीनका एक हजार २३५ जना रहेका छन्। चिनियाँ पर्यटक कम हुनुमा कोभिड–१९ को महामारीपछि नेपाल आउने उडान बन्द हुनु रहेको उनको भनाइ छ। यस अवधिमा आएकाहरू पनि हङकङ, ताइवान, सिंगापुरबाट आएको लामिछाने बताउँछन्।
‘थप समस्या निम्त्याउँछ’
दुईदिने बिदाले होटल तथा पर्यटन व्यवसायी उत्साहित भए पनि केही सरोकारवालाले भने सरकारको यस निर्णयको विरोध गरेका छन्। नेपाल समुद्रपार निकासी पैठारी संघले उक्त निर्णय फिर्ता लिन माग गरेको छ।
साताको दुई दिन बिदा हुँदा प्रशासनिक निकाय, ब्यांक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग कारोबार गर्नुपर्ने उद्योग, व्यवसायको क्षेत्रमा कठिनाइ उत्पन्न हुने संघका द्वितीय उपाध्यक्ष शिवकुमार अग्रवाल बताउँछन्। यसै पनि ढिलासुस्ती हुने सरकारी कार्यालयमा दुई दिन बिदाले अझै ढिला हुन गई विदेशी लगानीका उद्योग, व्यवसाय स्थापना तथा सञ्चालन सम्बन्धी प्रक्रिया लम्बिने उनको दाबी छ। यस्तै‚ कर्मचारीको कार्यसम्पादनलाई चुस्त–दुरुस्त तथा छिटोछरितो बनाउन नसक्ने र अहिलेकै जस्तो सुस्त कार्यसम्पादन कायम रहे यो निर्णयले मुलुकलाई दीर्घकालसम्म घात गर्ने उपाध्यक्ष अग्रवालको भनाइ छ।
ब्यांक तथा वित्तीय संस्था लगातार दुई दिन बन्द हुँदा आयातीत वस्तुको भन्सार जाँचपास प्रक्रिया लम्बिन गई औद्योगिक कच्चा पदार्थ एवं अन्य वस्तु आयातकर्ता व्यवसायीमाथि विलम्ब शुल्कको भार थपिने उनको जिकिर छ। त्यसै गरी ब्यांक तथा वित्तीय संस्था मार्फत हुने आर्थिक कारोबार पनि प्रभावित भई उद्योग, व्यवसायमा नकारात्मक असर पर्न सक्ने अग्रवाल बताउँछन्।
सरकारले आन्तरिक पर्यटक बढाउन र पेट्रोलियम पदार्थको खपत कम गर्न दुई दिन बिदाको निर्णय गरे पनि यो प्रत्युत्पादन हुने अर्थविद् केशव आचार्यको दाबी छ। उनी दुईदिने बिदाले आन्तरिक पर्यटक बढे पनि पेट्रोलियम पदार्थको खपत भने बढ्ने बताउँछन्।
“सातामा एक दिन बिदा थप्दा आन्तरिक पर्यटन बढेको राम्रो हो कि पेट्रोलियमको आयात बढेको राम्रो?” उनी भन्छन्‚ “सरकारले यो कुरा बुझ्नुपर्ने हो।” आचार्यका अनुसार, बिदा बढ्दा मान्छेहरू सवारी साधन लिएर घुम्न जान्छन् र त्यसले पेट्रोलियम पदार्थको खपत बढ्छ।
अन्य देशमा सातामा दुई दिन बिदा दिए पनि सार्वजनिक बिदा कम हुने आचार्यको भनाइ छ। “५२ सातामा थप ५२ दिन बिदा दिंदा नेपालका चाडपर्व र सार्वजनिक बिदा घटाउनुपर्छ,” उनी भन्छन्, “अनि अहिले ६ दिनमा गरेको काम सरकारी कर्मचारीले पाँच दिनमा गर्न सक्नुपर्छ। नत्र जनतालाई ठूलो मार पर्छ।”