धनुषामा पनि विवाद, प्रहरीद्वारा हवाई फायर
मतदानका क्रममा विवाद भएपछि धनुषामा पनि प्रहरीले हवाई फायर गरेको छ।
धनुषाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएको हो। मत खसाल्ने विषयलाई लिएर विवाद बढ्दै गएपछि झडप भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।
मतदान केन्द्रको स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको उनले बताए। अहिले विवाद साम्य भइसकेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।
सुरक्षा निकायले धनुषामा ३२३ वटा मतदानस्थलमध्ये १८३ लाई अति संवेदनशीलमा राखेको छ। त्यहाँ सुरक्षा व्यवस्था कडा गरिएको उनले बताए।
जिल्लाका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।