सर्लाहीको धनकौल र महोत्तरीको बलवामा गोली चल्यो
स्थानीय तह निर्वाचनका क्रममा महोत्तरीको बलवामा र सर्लाहीको धनकौलमा विवाद हुँदा गोली चलेको छ।
मतदानका क्रममा विवाद र झडप हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड गोली चलाएको हो।
राजनीतिक दलका नेता तथा कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए। उनका अनुसार, धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए। दलका कार्यकर्ताबीच ढुङ्गा हानाहान समेत भएको छ।
विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान शुरू हुन सकेको छैन। राजनीतिक दलबीच छलफल चलिरहेको प्रवक्ता बुढाथोकीले बताए।
त्यस्तै, महोत्तरीको बलवा नगरपालिकामा पनि गोली चलेको छ। बलवा नगरपालिका–५ को मतदान स्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
बलवा–५ स्थित मनसिव महावीर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली च्यातिएपछि होहल्ला गरेको र भीडलाई तितरबितर गर्न सुरक्षाकर्मीले एक राउन्ड हवाई फायर गरेको उनले बताए।
मनसिव महावीर केन्द्रमा अहिले विवाद साम्य भएको छ। अहिले मतदान शुरू भएको डीएसपी विष्टले बताए।