गोप्य मत सार्वजनिक गरेका बाबुराम भट्टराईलाई १५ हजार जरिवाना हुन सक्ने
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत सङ्केत सार्वजनिक गरेका छन्।
कानूनमा यसरी मतपत्र सार्वजनिक गर्नेलाई १५ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को (२) मा मत सङ्केत सार्वजनिक गर्नेलाई मतदान अधिकृतले १५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने उल्लेख छ।
वैशाख ३० गते बिहान ८.२५ बजे गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा भोट हाले लगत्तै भट्टराईले फेसबूक मार्फत मत सङ्केत सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको मतपत्र खाममा सिलबन्दी गरेर छुट्टै राखी गणना नगर्ने कानूनी व्यवस्था छ।
ऐनमा कसैले पनि मतपत्रमा सङ्केत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने व्यवस्था छ।