निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थाहै छैनः दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा आफूलाई सोधेको स्पष्टीकरणबारे थाहा नभएको बताएका छन्।
चितवनको भरतपुर-१४ स्थित नेपाल पुलिस स्कूलमा वैशाख ३० गते बिहान मतदान गर्न गएका दाहालले भने, “आठघण्टे स्पष्टीकरणबारे थाहा छैन, सुनेको छैन।”
अध्यक्ष दाहालले मौन अवधिमा भरतपुरको मेयरमा उठेकी आफ्नी छोरी रेणुका पक्षमा वैशाख २९ गते बिहान भरतपुर-२६ चनौली र दिव्यनगर तथा माडी-५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार तथा कार्यकर्तासँग भेटघाट गरेर भोट मागेपछि आयोगले आठ घण्टे स्पष्टीकरण सोधेको हो। तर, दाहालले भने आफूलाई स्पष्टीकरणबारे जानकारी नभएको बताएका हुन्।
भरतपुरवासीलाई वैशाख २२ गते धम्की दिएको पनि उनले अस्वीकार गरे। उनले वैशाख २२ गते चितवन पुगेर आफ्नी छोरीले चुनाव नजिते मुलुक दुर्घटनामा जाने र जिते २० वर्षसम्म गठबन्धन कायम राख्ने घोषणा गरेका थिए।