यूट्युबर समीक्षकलाई थप एक दिन हिरासतमा राख्ने आदेश
चलचित्र ‘बीर विक्रम २’ को समीक्षाको आरोपमा पक्राउ परेका प्रनेश गौतमलाई काठमाडौं जिल्ला अदालतले थप एक दिन हिरासतमा राख्ने आदेश दिएको छ ।
गौतमलाई २४ जेठ शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार ऐन उल्लंघनको आरोप लगाइएको छ । ।
गौतमका वकिल निरव ज्ञवालीले प्रहरीले सोमबार ढिलोगरि म्याद थपका लागि अदालतमा उपस्थित गराएकाले संक्षिप्त बहस मात्रै गर्न पाएको बताए।
“भोलिको बहसले छिनोफानो लाग्ने विश्वास छ, मुद्दा धेरै लम्बिन्छ भन्ने लागेकै छैन”, उनले भने ।
गौतमले चलचित्र ‘बीर विक्रम २’ समीक्षा भन्दैं ठट्यौली भाषामा यूट्युब च्यानल मीम नेपालमा १५ मिनेट ५० सेकेण्डको भिडियो पोष्ट गरेका थिए। उनको भिडियोमा चलचित्रको कथा हिन्दी चलचित्र ‘शोले’ सँगै हुँबहुँ मिल्ने र नयाँ केही नभएको आरोप लगाइएको थियो ।
यूट्युब च्यानलले चलचित्रको व्यापार र साखमा असर परेको भन्दैं निर्माता/निर्देशक मिलन चाम्सले दुई साताअघि नै प्रहरीसमक्ष उजुरी दिएको थिए ।
प्रनेसको भिडियो समग्र चलचित्रविरोधी भएको भन्दैं चलचित्रकर्मीहरू स्वयंले उनीमाथि सजाय गर्न माग गरेका थिए, जुन अस्वभाविक थियो ।
चलचित्रको आलोचना गर्दैमा पक्राउ गरिनू अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन् भएको कतिपयको भनाइ छ ।
यो चलचित्र ३ जेठमा रिलिज भएको थियो । त्यसको पाँच दिनपछि राखिएको यो यूट्युब भिडियो अहिले हटाइसकिएको छ ।
शुक्रबार गौतमसँगै पक्राउ परेर सोही दिन रिहा भएका मीम नेपाल यूट्युब च्यानलका सदस्य आदर्श मिश्रले गौतम सम्भवतःमंगलबार हिरासतमुक्त हुने आश पलाएको बताए ।