झिलिमिली उज्यालो चरालाई चुनौती
पृथ्वीमा दुई प्रतिशतका दरले अनावश्यक मानव निर्मित कृत्रिम उज्यालो बढ्दै गएको छ। जसको प्रतिकूल प्रभाव बसाइँसराइ गर्ने चराहरूलाई परेको छ।
उड्न सक्ने भएकाले होला, चराहरूको घुमफिर र यात्रा अन्य जनावरको भन्दा धेरै हुन्छ भने ओगट्ने क्षेत्र पनि ठूलो हुन्छ। कतिपय चरा त मौसम अनुसार हजारौं माइलको दूरी पार गरी बसाइँसराइ गर्छन्।
विश्वमा पाइने चराका ११ हजार बढी प्रजातिमध्ये करीब ४० प्रतिशत नियमित रूपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्छन्।
अनुकूल मौसम, सुरक्षित वासस्थान, चरन र उपयुक्त प्रजनन क्षेत्रको खोजीमा चरा एक ठाउँबाट अर्को ठाउँमा र एक महादेशबाट अर्को महादेशमा आवतजावत गर्छन्।
पछिल्ला दिनमा मानवीय क्रियाकलापका कारण बसाइँसराइ गर्ने चरा सङ्कटमा पर्दै गएका छन्। त्यसैले बसाइँसराइ गर्ने चराहरूको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडान मार्गको सुरक्षाका लागि विश्वव्यापी हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक मे महीनाको दोस्रो शनिबार विश्व बसाइँसराइ चरा दिवस मनाइन्छ।
ग्रीष्मकालीन आगन्तुक चराहरूको आगमनका वेला परेको यस दिवसको नारा ‘चराका लागि रातको कृत्रिम उज्यालो कम गरौं’ भन्ने छ।
रातको झिलिमिली उज्यालोलाई हामी आकर्षक ठान्छौं; विकासको प्रतीक मान्छौं। तर, यस धर्तीमा अँध्यारोमा मात्र सक्रिय हुने हजारौं जीवजन्तु र लाखौं कीराफट्याङ्ग्रा पनि हुन्छन् र तिनलाई उज्यालोले असर गर्छ भन्नेमा बेपरवाह छौं।
करीब ७० प्रतिशत स्तनधारी जनावर रातमा आहारविहार, हिंडडुल र प्रजननका लागि सक्रिय हुन्छन् भने दिनमा लुकेर बस्छन्; आराम गर्छन्। चरा प्रजातिका लाटोकोसेरो, चैते चरा जस्ता करीब ३० प्रतिशत प्रजाति आफ्नो गुजाराका लागि रातमा सक्रिय हुन्छन्। दिनमा सक्रिय हुने चरा पनि बसाइँसराइ भने रातको समयमा नै गर्छन्।
दिनभर आहारको खोजी र शक्ति सञ्चयमा बिताउने चरा रातमा उड्दा शत्रुको जोखिम कम हुनुका साथै जुन र तारा उडानमार्ग पहिल्याउन सहयोगी हुन्छन्। रातमा तापक्रम कम हुने र वायुमण्डल पनि स्थिर हुँदा चरालाई उडान भर्न सजिलो हुन्छ।
बाज, चिल, गिद्ध जस्ता शिकारी चरा दिनमा बसाइँसराइ गर्ने हुँदा तीबाट बच्न पानी चरा र अन्य गीतारु चरा, साना फिस्टे, चाँचर प्रजातिका चरा रातमा बसाइँसराइ गर्छन्।
यो चक्रलाई विकासले बिथोलेको छ। हरेक वर्ष पृथ्वीमा कम्तीमा दुई प्रतिशतका दरले अनावश्यक रूपमा मानव निर्मित रातको उज्यालो बढ्दै गएको छ।
रातमा आकाश नै उज्यालो देखिने गरी बत्ती बाल्नु वा मान्छेले कृत्रिम उज्यालोका कारण आकाशमा तारा, जुन देख्न नसक्नुलाई प्रकाश प्रदूषण भनिन्छ। १९औं शताब्दीमा विद्युतीय चिमको आविष्कारसँगै यसको व्यापकता संसारभर तीव्र हुँदै गएको हो।
हाल संसारका एक तिहाइभन्दा बढी जनसङ्ख्याले रातमा आकाशका तारा देख्नै पाउँदैन। अर्थात्, कृत्रिम उज्यालाका झिलिमिलीमा रात बिताउँछ।
यूरोप र अमेरिकाको करीब ९९ प्रतिशत जनसङ्ख्या रातको अधिक उज्यालोमा बस्छ। सिंगापुर, कुवेत, कतार, संयुक्त अरब इमरेट्स र साउदी अरेबिया संसारका बढी चहकिला देश हुन् जुन औसत शहरी उज्यालोभन्दा आठ गुणा उज्याला छन्।
अफ्रिकी देशको आकाश भने कम उज्यालो हुनेमा पर्छ भने नेपाल मध्यममा पर्छ। रातमा सक्रिय हुने र बसाइँसराइ गर्ने चरालाई रातको चकमन्न उज्यालोले असर गर्ने हुँदा रातको कृत्रिम उज्यालोले चरालाई गन्तव्यमा पुग्न अवरोध पुग्छ। उनीहरूले आफ्नो उडानमार्ग पहिचान गर्न सक्दैनन् भने अग्ला भौतिक संरचनामा ठोक्किने डर उत्तिकै छ।
चराहरू चहकिलो बत्तीतर्फ आकर्षित भएर त्यता जाँदा आफ्नो बाटो बिराउने, हराउने, ठोक्किने मात्र होइन, त्यहाँ ढुकेर बसेका शिकारीको निशानामा पनि पर्छन्।
संयुक्त राज्य अमेरिकाका शहरमा हरेक वर्ष रातको कृत्रिम उज्यालोका कारण दुर्घटनामा परी करीब दश करोड चरा मर्ने गरेका छन्।
रातको उज्यालोले चराहरूको २४ घण्टा समयको शारीरिक ‘जैविक घडी’ लाई पनि प्रभावित पार्छ। जसकारण उनीहरूको शारीरिक, मानसिक र आनीबानीमा बदलाव आउने वैज्ञानिक निष्कर्ष छ।
उत्तर अमेरिकामा एक सय ४२ प्रजातिका चराका ५८ हजार ५०६ गुँडका अध्ययनबाट बढ्दो कृत्रिम उज्यालोका कारण चराको प्रजनन समय करीब एक महीना अघि सरेको देखिएको छ।
चराको प्रजनन समय तिनीहरूको आहाराको प्रचुर उपलब्धता हुने समय सँगसँगै हुन्छ। तर, यसरी प्रजनन समय अघि सर्दा प्रशस्त आहार पाउन नसकी चराको प्रजनन र बच्चा हुर्काउने सफलता दर कम हुन जान्छ। शहरको उज्यालो केवल शहरमा मात्र सीमित हुँदैन, त्यसको प्रकाश चारैतिर टाढा टाढासम्म फैलिएको हुन्छ, जसले चराहरूको वासस्थान र बसाइँसराइको वेला आराम गर्ने क्षेत्रमा पनि बाधा पुगिरहेको हुन्छ।
बसाइँसराइ गर्ने चराले आफ्नो गन्तव्यसम्म पुग्न सहारा लिने नदी, भौगोलिक शृङ्खला र चुम्बकीय दिशाको सही पहिचानमा समेत उज्यालोले अलमल्याउने गरेको अध्ययनहरूमा देखिन्छ।
नेपालमा पनि ठूला शहर झिलिमिली र उज्यालो बन्दै जाने क्रम तीव्र छ। तत्काललाई हाम्रोमा प्रकाश प्रदूषण ठूलो समस्या नदेखिए पनि निकट भविष्यमा चुनौतीपूर्ण हुने डर छ।
काठमाडौं उपत्यकामा विगत तीन वर्षको अध्ययनमा अग्ला र ठूला भौतिक संरचनामा ठोक्किएर नौ प्रजातिका करीब तीन दर्जन चरा मरेको पाइएको थियो। जसको कारण अग्ला र ठूला संरचनामा शिशाको प्रयोग र रातको उज्यालो हो। शिशाले प्रकाश परावर्तन गर्ने हुँदा चराहरूले संरचना ठम्याउन सक्दैनन् र दुर्घटनामा पर्छन्।
बसाइँसराइ यात्रा चराको जीवनको महत्त्वपूर्ण तर कठिन अवस्था हो। प्रजननस्थल, आश्रयस्थल, उडानमार्ग र बाटोमा विश्राम गर्ने स्थानहरूमा आउने ससाना अवरोधले पनि यी चराहरूलाई ठूलो असर गर्छ। चराको बसाइँसराइ मान्छेहरूको बस्ती विस्तार र भौतिक प्रगतिभन्दा सदियौं वर्ष पहिलेदेखि हुँदै आएकाले उनीहरूको सनातन यात्रा जोगाइराख्न हामी जिम्मेवार बन्नुपर्छ।
वातावरणीय सूचक यी बसाइँसराइ गर्ने चराहरूले संसारमा छरिएर रहेका मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जैविक सम्बन्धले एकआपसमा जोडेका छन्। तसर्थ, यी चराहरूको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तरदेशीय साझेदारीको आवश्यकता छ। प्रकाश प्रदूषण मानव स्वास्थ्य, समग्र पर्यावरणीय सन्तुलन र आकाशको वातावरणको हिसाबले पनि हानिकारक भएकाले अनावश्यक उज्यालो कम गरौं।
बत्तीहरू आकाशतर्फ फर्काउनुको साटो जमीनतिर अथवा लक्षित दिशातर्फ मात्र फर्काऔं। रातमा बत्ती मधुर पारौं। यो धर्ती हामी जत्तिकै निशाचर प्राणीहरूको पनि हो भन्नेमा गम्भीर हेक्का राखौं।