भोट दिन उत्साहित नयाँ मतदाता
स्थानीय चुनावमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका नयाँ मतदाता उत्साहित देखिन्छन्।
स्नातक प्रथम वर्षमा अध्ययरत पोखरा महानगरपालिका-१० उत्तम चोकका अशिम कार्की बिहीबार मतदाता परियचपत्र पाउँदा उत्साहित देखिन्थे। पहिलो पटक मतदान गर्ने तयारीमा रहेका उनी मतदाता परिचयपत्र लिन पोखराको रामबजारस्थित कालिका पब्लिक स्कूल पुगेका थिए।
मतदाता परियचपत्र पाएपछि अशिमले खुशी हुँदै भने, “म कुनै राजनीतिक पार्टीमा संलग्न छैन, तैपनि मतदान गर्नका लागि उत्साहित भएको छु।”
उनले मतदान गर्नका लागि युवा उम्मेदावर रोज्ने बताए। “मेरो पहिलो रोजाइमा युवाको सोच, अपेक्षा र आवश्यकता सुन्ने उम्मेदवार पर्छ,” उनले भने।
उम्मेदवारसँग युवालाई स्वेदशमै गुणस्तरीय शिक्षा, रोजगार, प्रविधिमैत्री सेवा दिने योजना हुनुपर्ने उनी बताउँछन्। “भौतिक पूर्वाधार केन्द्रित विकास मात्रै होइन, प्रविधिमैत्री विकासमा जोड दिनुपर्छ,” अशिम भने, “दलका घोषणापत्र हेर्यो, त्यही पुरानै ढर्राका विकास निर्माणका योजना छन्। त्यसैले युवा उम्मेदवारलाई मौका दिनुपर्छ।”
पोखरा महानगरमा अशिम जस्तै ३९ हजार ६४५ मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार, देशभर ३६ लाख ५९ हजार २९९ नयाँ मतदाताले पहिलो पटक भाग लिंदै छन्। उनीहरूमध्ये धेरैजसो युवा विशेष गरेर १८ देखि २५ वर्षसम्मका छन्।
उनीहरूमध्ये एक पोखरा-१४ मसिनाकी सुजाता मगर राजनीतिक दल र नेताहरूको सत्ताको खिचातानीले निराश बनाउने गरेको बताउँछिन्। “स्थानीय चुनावबाट आउने नेतृत्व हाम्रो घर बनाउँदा जग कस्तो बनाउने भन्ने हो। तर, राजनीतिक दलहरूले यतातिर ध्यान दिएको देखिंदैन,” उनी भन्छिन्, “पार्टीबाट उठाएको जस्तोसुकै मान्छे भए पनि जिताउनुपर्छ भन्ने ठान्छन्। अब त युवालाई अघि सार्नुपर्छ।”
उनी अबको नेता ऊर्जावान् र नैतिकवान् हुनुपर्ने बताउँछिन्। “कम्तीमा पनि विकास र प्रविधि जानेको नेतृत्व आउनुपर्यो। संसारले के गर्दै छ भन्ने जानेको नेतृत्व हुनुपर्छ,” उनी भन्छिन्।
उनी विकास निर्माणका मुद्दाले मात्रै नयाँ मतदाता आकर्षित गर्न नसकिने उनी बताउँछिन्। यससँगै सुशासनको विषय पनि महत्त्वपूर्ण भएको उनको भनाइ छ। “आमाबुबाले रोजेकै दल र उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने छैन,” सुजाताले भनिन्, “नयाँ मतदातालाई लोभलालच देखाएर हुँदैन। कामका योजना पो देखाउनुपर्छ।”
बिहीबार पोखराका विभिन्न मतदानस्थलमा मतदाता परिचयपत्र लिन पुगेका नयाँ मतदाता उत्साहित देखिन्थे। पहिलो पटक मतदान गर्ने तयारीमा रहेका उनीहरू परिचयपत्र बोकेर फर्किंदा खुशी देखिन्थे।
निर्वाचन आयोगले नयाँ मतदातालाई सम्बन्धित मतदान स्थलबाटै परिचयपत्र पाउने व्यवस्था गरेको थियो। जस अनुसार, बुधबार र बिहीबार नयाँ मतदाताले परिचयपत्र लिएका छन्।
वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ। कास्कीमा यसको सबै तयारी पूरा भएको गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए। निर्वाचन कार्यालयले गर्नुपर्ने काम बिहीबार दिउँसोसम्म लगभग पूरा गरिसकेको छ।
“मतदानका लागि आवश्यक पर्ने सामग्री, मतपत्र, साथै निर्वाचन केन्द्रमा खटिएका कर्मचारीको नियुक्तिपत्र साथै सुरक्षाका प्रवर्द्धन सम्पूर्ण तयार भएको छ,” पराजुलीले भने।
मतदातालाई सहज रूपमा मतदान गर्नका लागि एउटा मतदानस्थलमा बढीमा एक हजार ६५ मतदाता रहेको उनले बताए। कास्कीमा १५० मतदान स्थलमा ३३६ मतदान केन्द्र तोकिएका छन्।