मौन अवधिमा प्रचार गरेको भन्दै आयोगले माग्यो माओवादी अध्यक्ष दाहालसँग स्पष्टीकरण
आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग आठ घण्टे स्पष्टीकरण मागेको छ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले मौन अवधिमा चितवनको भरतपुरका मेयरका उम्मेदवारलाई मत मागेको जनाउँदै आयोगले स्पष्टीकरण मागेको हो। अध्यक्ष दाहालले वैशाख २९ गते बिहान भरतपुर-२६ चनौली र दिव्यनगर तथा माडी-५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार तथा कार्यकर्तासँग भेटघाट गरेर भोट मागेको आयोगले जनाएको छ। भरतपुर महानगरको मेयरमा दाहालकी छोरी रेणु उम्मेदवार बनेकी छन्।
वैशाख २७ गते रातिदेखि नै मौन अवधि शुरू भइसकेको छ। आयोगले दाहाललाई पठाएको पत्रमा आचारसंहिता उल्लंघनकर्ताका रूपमा नाम किन सार्वजनिक गर्नुनपर्ने हो? र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गरेर आचारसंहिता उल्लंघनमा किन कारबाही नगर्ने? आठ घण्टाभित्र लिखित जवाफ दिनू भनेको छ।
आचारसंहिता उल्लंघनमा दाहालसँग आयोगले दोस्रो पटक स्पष्टीकरण मागेको हो। यसअघि भरतपुरमा पुगेर मतदातालाई धम्क्याएको भन्दै दाहालसँग आयोगले स्पष्टीकरण मागेको थियो।