पैसा र पहुँचको प्रभावमा नपरेर मतदान गर्नुहोस्: प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैको प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरेका छन्।
स्थानीय तह निर्वाचनमा मतदान हुनु अघिल्लो दिन बिहीबार आयोगमा पत्रकार सम्मेलन गरेर थपलियाले यस्तो आग्रह गरेका हुन्। मतदान हुने दिनलाई राष्ट्रिय उत्सवका रूपमा लिन आग्रह गर्दै थपलियाले भने, “पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरीकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदाता महानुभावमा हार्दिक आह्वान गर्दछु।”
वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पनि थपलियाले जानकारी दिए। उनले सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको बताए।
मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रति देखाएर पनि मतदान गर्न पाइने आयोगले जनाएको छ।
देशभरका ७५३ स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि चयनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मताधिकार प्रयोग गर्दै छन्।