पृथ्वी सुब्बा गुरुङ र गंगा दाहालसँग आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) की नेत्री गंगा दाहालसँग २४ घण्टे स्पष्टीकरण मागेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले गुरुङ र दाहालसँग २४ घण्टे स्पष्टीकरण मागिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनीहरूले मौन अवधिमा सामाजिक सञ्जाल मार्फत भोट मागेकाले स्पष्टीकरण मागिएको अर्यालले बताए।
एमाले उपमहासचिव गुरुङले बुधबार सामाजिक सञ्जाल फेसबूकमा एमाले उम्मेदवारलाई भोट मागिएको भिडियो पोस्ट गरेका थिए। त्यस्तै, माओवादी नेत्री दाहालले भरतपुरका मेयर र उपमेयरका उम्मेदवारलाई मत दिन आग्रह गर्दै फेसबूकमा लेखेकी थिइन्।
आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६६ जनासँग स्पष्टीकरण मागेको छ। त्यस्तै, नौ जनालाई सचेत गराएको छ भने एक जनाको ध्यानाकर्षण गराएको छ।