जित्नैपर्ने चुनावी प्रतिस्पर्धाले कमजोर बन्दै लोकतन्त्र
लोकतन्त्र कुन तहको परिपक्वतामा पुग्यो भनेर मापन गर्ने आधार हो, निर्वाचन। तर, स्थानीय निर्वाचनको सन्दर्भमा आइरहेका समाचारले झण्डै आठ दशक लामो नेपालको प्रजातान्त्रिक अभ्यास कमजोर मात्र होइन, विकृत बन्दै गएको सङ्केत गरेको छ।
प्रजातान्त्रिक शासन पद्धति अँगालेको कुनै पनि देशका निम्ति निर्वाचन नियमित प्रक्रिया हो। निर्वाचन नै सम्पूर्ण रूपमा प्रजातन्त्र नभए पनि निर्वाचन विनाको प्रजातन्त्र (लोकतन्त्र जे भनौं) को कल्पना गर्न सकिंदैन।
आजको पुस्ताले निर्वाचनलाई सहज र स्वाभाविक रूपमा लिइरहेको छ। तर, यो हाम्रा पुर्खाको लामो बलिदान र सङ्घर्षबाट हासिल भएको राजनीतिक अधिकार हो। समाजका जेठा, बूढा, ज्ञानीगुणीले स्थानीय रूपमा सामाजिक किचलो, धार्मिक अन्योल, आर्थिक लेनदेनको झगडा आदि मिलाउने परम्परा नेपालमा निकै अघिदेखि अभ्यासमा भए पनि राजनीतिक प्रणालीका रूपमा जनताले मत राखेर आफ्नो प्रतिनिधि छान्ने पद्धति भने राणा शासनको अवसानपछि मात्र कानूनी रूपमा शुरू भयो।
अन्तर्राष्ट्रिय रूपमा फैलिएको प्रजातान्त्रिक लहरको प्रभाव स्वरूप राणा शासकले पनि आफ्नो शासनको उत्तरार्द्धमा सीमित परिधिमा भए पनि निर्वाचनको अभ्यास थालेका थिए। तथापि, राणा शासनको आधारभूत पक्ष नै निर्वाचन र प्रजातन्त्रसँग अन्तर राख्ने भएकाले चुनावको टालोले राणा शासनको जीर्ण अवस्था मर्मतसम्भार गर्न सकेन।
त्यसयता नेपालमा पटक पटक विभिन्न तहका निर्वाचन भए। हरेक निर्वाचनलाई तत्कालीन शासक वर्ग वा शक्तिशाली राजनीतिक दलले आफ्नो शासन बलियो बनाउन वा टिकाउन प्रयोग गरे। कतिपय शासकले निर्वाचन रोकेर, धाँधली गरेर, आफ्नो पक्षका प्रतिनिधि निर्वाचित गरेर पनि आफू उभिएको जग बलियो बनाउन खोजे। तर, निर्वाचनको अपरिहार्यतालाई धेरै राजनीतिक शक्तिले अस्वीकार गर्न सकेन।
नेपाली जनताले नियमित राजनीतिक अभ्यासका रूपमा हृदयङ्गम गरिसकेको निर्वाचनलाई राजनीतिक शक्ति र शासकले पनि निषेध गर्न सकेका छैनन्। भविष्यमा नेपालमा स्थापना हुने जस्तोसुकै राजनीतिक प्रणाली वा आर्थिक व्यवस्थाले पनि निर्वाचनको राजनीतिक अभ्यासलाई निषेध गर्न सक्नेछैन।
स्थानीय तहको निर्वाचन सँघारमै हुँदा यति वेला निर्वाचनका गुण तथा अवगुणबारे चर्चा व्यापक छ। निर्वाचनको नाममा राजनीतिक दलले गर्ने अनेकन् विकृतिजन्य गतिविधिले देशको राजनीतिलाई थप घातक बनाएकोमा दुई मत छैन। विशेषतः राजनीतिक संस्कार र संस्कृति परिपक्व नबनेको, गरीब र अविकसित नेपाली समाजका कमजोरीको लाभ उठाउँदै राजनीतिक दलहरूले आफैंले बनाएका नियमका छिद्रको प्रयोग गरी निर्वाचन परिणाम आफ्नो पक्षमा निकाल्ने प्रयत्न गर्दै आएका छन्।
यसअघिका निर्वाचनमा विद्युत् नपुगेका जिल्लाका मतदातालाई टर्चलाइट, रिचार्ड कार्ड, तराईका जिल्लामा मासु, साडी बाँडिएको खबर आएका थिए। राजधानीकै विभिन्न क्षेत्रमा चामल र पैसा बाँडिएका समाचार हरेक निर्वाचनमा आउने गरेका छन्। निर्वाचनमा भोजभतेर दिने र जाँडरक्सीको अत्यधिक प्रयोग हुने गरेको कुरा कसैसामु लुकेको छैन।
यति मात्र होइन‚ आफ्नो पक्षमा मत नदिने अनुमानका आधारमा कुटपिट गरेका घटना समेत सुनिए। अहिलेको निर्वाचनमा पनि यस्ता घटनाका समाचार आइरहेका छन्।
निर्वाचन जित्न गरिने यस्ता गतिविधिले कसैको गलामा माला लगाउला, कोही टाट पल्टेर घोसे मुन्टो लगाउनुपर्ने अवस्थामा पुग्लान्। तर, निर्वाचनको नाममा हुने गलत क्रियाकलापले नेपाली जनताले पटक पटक बलिदान गरेर स्थापना गरेको प्रजातन्त्रलाई नै हानि पुर्याउँछ। यस्ता गतिविधिले सबभन्दा कमजोर कोही हुन्छ भने त्यो प्रजातन्त्र हो।
राजनीतिक दलको नेतृत्वकै संरक्षण र प्रोत्साहनमा चुनावताका अनैतिक गतिविधि हुने गरेका छन्। नेतृत्वको त्यही प्रोत्साहन र संरक्षणको बलमा तल्लो तहका कार्यकर्ता र समर्थक चुनावमा नियम मिच्नु र आचारसंहिता विपरीतका काम गर्नुलाई सहज र स्वाभाविक मान्ने गर्छन्। नेतृत्व नै नैतिकता उल्लङ्घन गर्न सहजै तयार हुने अवस्थामा यसको प्रत्यक्ष प्रभाव कार्यकर्ता तहमा पुग्नु स्वाभाविक पनि हो।
प्रजातान्त्रिक निर्वाचनमा धन‚ बलको कुनै महत्त्व नहुनुपर्ने हो। जुन समाजको निर्वाचनमा पैसा, मुढेबलको कुनै महत्त्व हुँदैन, त्यस्तो समाजमा नै प्रजातन्त्र सबल मानिन्छ। मतदाताले पैसा वा आश्वासनको मोहमा नपरी उम्मेदवारका विचार, कार्यक्रम, चरित्र र व्यवहारको लेखाजोखा गरेर मतदान गर्ने अवस्थामा प्रजातन्त्र परिपक्व मानिनेछ। तर, धनवाद नै बलियो हुने विकृत प्रजातन्त्रमा पैसा र विचारको तुलोमा पैसा नै भारी हुने गरेको छ।
आज कसैको चरित्र, व्यवहार, योगदान र क्षमताको आधारमा भन्दा पनि जसले पैसा बढी खर्च गर्ने क्षमता राख्छ, त्यही उम्मेदवारले चुनाव जित्ने अवस्थामा नेपालको प्रजातन्त्र पुगेको छ। स्थानीय तहमा कुन व्यक्ति जनतासँग घुलमिल छ, को जनताको सेवामा लागेको छ, कसले आफ्नो दलको विचार जनतासम्म सम्प्रेषण गरेको छ भन्ने मापदण्डभन्दा कसले चुनावमा बढी पैसा ‘लगानी’ गर्न सक्छ भन्ने आधारमा उम्मेदवार बनाउने गरिएको छ। परिणामतः चुनाव पैसाको प्रतिस्पर्धा बनेको छ। विशेषतः ठूला भनिने दलले त पैसा खर्च गर्ने ल्याकत राख्ने आकाङ्क्षीलाई नै टिकट दिने गरेका छन्।
राजनीतिलाई गम्भीर रूपमा नलिने सर्वसाधारणका निम्ति चुनाव मेला, भोजभतेर र रमाइलो बनेको छ। क्षणिक सुखभोग र रमाइलोमा लाग्ने युवा पिंढीका निम्ति चुनाव त जन्ती गए जस्तै भएको छ। राजनीतिक दलका नेता चुनावमा आफ्नो पक्षमा जनमत बढाउन अथवा आफ्ना कार्यकर्तालाई हौस्याउने हेतुले मनपरी र तथ्यहीन कुरा गरिरहेका हुन्छन्। यसले भुइँ तहमा कार्यकर्तालाई अझ बढी आक्रामक र अन्धता प्रदर्शन गर्न उत्साहित गर्छ।
विपक्षीमाथि भौतिक आक्रमणका निम्ति नेतृत्वका यस्ता विवेकहीन तर्कबाजीले पनि उत्साहित गरिरहेको हुन्छ। किनकि‚ मुहान सफा भए धारामा पानी सफा आउँछ‚ धमिलो मुहानबाट कञ्चन पानीको अपेक्षा गर्न मिल्दैन। चुनावमा हुने यस्ता गतिविधिले प्रजातन्त्रलाई राजनीतिक चिन्तन, विचार र जीवनशैली मान्ने मान्यतालाई कमजोर बनाउँछ। प्रजातन्त्रलाई नाराबाजीमा सीमित राख्छ।
राजनीतिक दल र नेतृत्वको जिम्मेवारी समाजलाई सकारात्मक दिशामा डोर्याउने हो। त्यसका निम्ति राजनीति माध्यम मात्र हुनुपर्ने हो। तर, राजनीतिक दल माध्यमका रूपमा रहेको राजनीतिक शक्ति प्राप्तिका निम्ति आफ्नो प्रधान लक्ष्य नै ओझेलमा पार्दै गएका छन्।
राजनीतिक दलको सक्रियता र बलिदान विना नेपालमा प्रजातन्त्र स्थापना सम्भव थिएन। अर्को शब्दमा आजका राजनीतिक दलले नै नेपालमा प्रजातन्त्र स्थापना गरेका हुन्। २०६२-६३ सालको जनआन्दोलनको परिणाम स्वरूप देशमा गणतन्त्र स्थापना भयो। यसमा राजनीतिक दलकै योगदान छ।
त्यसैले प्रजातन्त्र वा गणतन्त्रको रक्षा गर्ने दायित्व पनि राजनीतिक दलकै हो। तर, चुनावलाई बृहत् प्रजातान्त्रिक कोणबाट नहेरी साँघुरो जितहार र आफूले जसरी पनि जित्नुपर्ने, त्यसका निम्ति साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न तयार भएका छन्। यसले प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रलाई नै कमजोर बनाउनेछ।
निर्वाचन लोकतन्त्र कुन तहको परिपक्वतामा पुग्यो भन्ने मापन गर्ने आधार पनि हो। तर, देशभर स्थानीय निर्वाचनको सन्दर्भमा आइरहेका समाचारले झण्डै आठ दशक लामो नेपालको प्रजातान्त्रिक अभ्यास अझै पनि कमजोर मात्र होइन, विकृत बन्दै गएको सङ्केत गरेको छ। आफूलाई प्रजातन्त्रवादी भन्ने राजनीतिक दल नै प्रजातन्त्रलाई कमजोर बनाउने अप्रजातान्त्रिक गतिविधिमा लागेका छन्।