मुस्लिम आयोगका अध्यक्ष अन्सारी बसेको होटल घेराउ
जनकपुरधाममा पैसा बाँडेको आरोपमा स्थानीय बासिन्दाले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी बसेको होटल घेराउ गरेका छन्।
अध्यक्ष अन्सारी जनकपुरधामको होटल सीताशरणमा बस्दै आएका थिए। उनले होटलमा पैसा बाँडेको आरोपमा स्थानीय बासिन्दा र नेकपा (एमाले) कार्यकर्ताले होटल घेराउ गरेका हुन्।
स्थानीय बासिन्दालाई होटलमा बोलाएर पैसा बाँडेपछि घेराउ गरेको एमालेका उपमहानगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए। अन्सारीसँगै रहेका पाँच जनालाई एमाले कार्यकर्ताले होटलमै थुनेर राखेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
अध्यक्ष सन्सारी सहित पाँचै जनालाई प्रहरी टोलीले सुरक्षित रुपमा बाहिर निकालेको छ। यसका क्रममा प्रहरी र एमाले कार्यकर्ताबीच धक्कामुक्की भएको थियो।
प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्री नेतृत्वको टोलीले उनलाई होटलबाट बाहिर निकालेको थियो। अध्यक्ष अन्सारीलाई सुरक्षित रुपमा विमानस्थल पुर्याइएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक वन्त रजौलेले बताए। “उहाँले काठमाडौं जाने कुरा छ, हामीले विमानस्थलसम्म पुर्याइ दिएका छौं,” एसपी रजौलेले भने।
उनलाई होटलबाट बाहिर ल्याएका डीएसपी क्षेत्रीले सुरक्षा दिएको बताए। “उहाँ होटलमा बस्नु भएको थियो, स्थानीय र एमाले कार्यकर्ताले घेरेपछि सुरक्षित रुपमा विमानस्थल पुर्याएका छौं,” डीएसपी क्षेत्रीले भने।
उनको कोठाबाट पैसा भेटिएको भन्ने कुरा पनि गलत भएको डीएसपी क्षेत्रीको भनाइ छ। “पैसा भेटियो भन्ने कुरा हल्ला मात्रै हो,” उनले भने।
मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भने केही बोल्न चाहेनन्। उनी काठमाडौं जान प्रहरी घेरामै विमानस्थल पुगेका छन्।