प्रधानमन्त्री र गृह मन्त्रीसँग टेलिफोनपछि छुटे बास्तोला
प्रधानमन्त्री शेरबहादुर देउवा र गृह मन्त्री बालकृष्ण खाँणसँग टेलिफोन वार्ता गरेपछि नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला छुटेका छन्।
चुनावमा सहभागिताको विषयमा विवाद भएपछि केही दिनअघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भएर बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) गठन भएको थियो। चन्द नेतृत्वको नेकपा स्थानीय चुनावमा सहभागी भएको छ भने बास्तोला नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने बताउँदै आएको थियो।
बुधबार काठमाडौंबाट सार्वजनिक बसमा सुर्खेत जाँदै गर्दा दाङको भालुवाङबाट प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो। प्रहरीले आज बिहान छोडेको बास्तोलाले बताए।
बुधबार राति बुटवलमा बम विस्फोट भएको थियो। त्यसमा बास्तोला नेतृत्वको नेकपा संलग्न रहेको हुन सक्ने आशङ्कामा प्रहरीले पक्राउ गरेको थियो।
बम विस्फोट र स्थानीय तहका निर्वाचनको बहिष्कारको विषयमा प्रहरीले सोधपुछ गरेको उनले बताए। “मैले प्रहरीलाई स्पष्ट रूपमा आफ्नो पार्टीले स्थानीय निर्वाचन बिथोल्ने कुनै खालको गतिविधि नगर्ने बताएको छु,” बास्तोलाले भने, “हाम्रो पार्टी त्यस किसिमका गतिविधिमा सहभागी हुँदैन।”
प्रहरीलाई स्पष्ट पारे पनि रिहा हुन प्रधानमन्त्री देउवा र गृह मन्त्री खाँणसँग टेलिफोनमा कुराकानी गर्नुपरेको उनले सुनाए। “मेरो प्रधानमन्त्री र गृह मन्त्रीसँग हिरासतमै कुरा भएको थियो। उहाँहरूसँग मैले आफ्नो कुरा राखेपछि प्रहरी लचिलो भएको हो,” बास्तोलाले भने।
उनी काठमाडौंबाट सार्वजनिक बसमा आउँदै गरको सूचना पाएपछि प्रहरीले गएराति भालुवाङबाट नियन्त्रणमा लिएको थियो।