मतदातालाई पैसा बाँडेको आरोपमा वडाध्यक्षका उम्मेदवार पक्राउ
सुर्खेतको गुर्भाकोट नगरपालिका-११ मा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन्।
गुर्भाकोट नगरपालिका-११ स्थित आँपसोतीबाट एमालेका वडाध्यक्षका उम्मेदवार राजन बिसीलाई प्रहरीले पक्राउ गरेको हो। मतदातालाई पैसा बाँडिरहेको भन्दै स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई गएराति १२ बजे गुर्भाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले बताए। डीएसपी घर्तीका अनुसार, एक लाख १२ हजार रुपैयाँ पनि बरामद गरिएको छ।
“पैसा बाँड्न लागेको भन्ने स्थानीयले सूचना दिएपछि प्रहरी टोली गएको हो,” डीएसपी घर्तीले भने, “वडाध्यक्षका उम्मेदवारलाई नियन्त्रणमा लिएका छौं, घरमा बेवारिसे अवस्थामा एक लाख १२ हजार नगद पनि फेला परेको छ।”
यस घटनामा थप अनुसन्धान भइरहेको उनले बताए।