जसरी गाउँ लगिंदै छ, त्यसरी नै काठमाडौं ल्याइदिन्छन् त?
बालाजु बसपार्कमा भेटिएकी अप्सराले आफ्ना श्रीमान्ले भारतमा काम गर्ने सोच बनाएको बताउँछिन्। “भोट हाल्न त अब ठ्याक जुरे जस्तो हो। आधा पैसा हामीले र आधा गाउँबाट मिलाएका रहेछन्,” अप्सरा भन्छिन्, “घर पुग्न एक जनाकै २७ सय भाडा लाग्छ, एक जनाको भाडामा दुई जना जान पाउने भएपछि हिंडेका हौं।”
भाइ तिम्रो नाम के हो?
विनोद मुर्मु।
अनि हाम्रो पालिकामा को उठेको छ थाहा छ?
छैन, दाइ।
त्यसो भए किन जान लागेको त? यत्रो गरेर लगिंदै छ थाहा छैन भन्छौ?
मुर्मु नाजवाफ हुन्छन्। छेउमै बसेका अर्को व्यक्ति बोल्न थाल्छन्।
मलाई थाहा छ दाइ, भागवत राउत हो। (हाँस्दै) भाइलाई म भन्छु नि!
अनि मतदाता परिचयपत्र छ त?
परिचयपत्र छैन, तर नामावली (मतदाता) मा नाम छ दाइ।
ए...नत्र फेरि गाह्रो हुन्छ नि। यत्रो गरेर लग्दै छौं।
यो संवाद, वैशाख २८ गते मध्याह्न काठमाडौंको कोटेश्वरबाट उदयपुरको गाईघाट जान लागेको गाडी चढ्न लागेका यात्रु र उम्मेदवारका कार्यकर्ताबीचको हो।
आफ्नो पक्षमा भोट हाल्न कसरी काठमाडौंबाट मतदातालाई घरसम्म लगिंदै छ भन्ने यो संवाद सुन्दा प्रष्ट हुन्छ। ४०० किलोमिटर दूरी तय गर्न लागेका यात्रुलाई कोटेश्वर चोकमा बसेर कार्यकर्ताले आफ्नो उम्मेदवारको नाम र चुनाव चिह्न सम्झाइरहेका थिए।
उनीहरू चढ्न लागेको बस नेकपा (एमाले) बाट त्रियुगा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका भागवत राउत (४८) ले पठाएकाले उदयपुर जान लागेका अर्का यात्रु चन्द्र रोक्काले जानकारी दिए। (त्रियुगाको मेयरमा राउतसँगै नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत, नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरी, जनता समाजवादी पार्टीकी मञ्जु राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिबहादुर राउत, जनता प्रगतिशील पार्टीका शेख इसराइल, सचेत नेपाली पार्टीका योगराज कार्की, लोकतान्त्रिक समाजवादी पार्टीका दयाराम चौधरी, मौलिक जरोकिलो पार्टीका गुरुदेव कार्की तथा अम्बिकाकुमारी रेग्मी र चित्रकुमार कार्कीले उम्मेदवारी दिएका छन्।)
एमाले उम्मेदवार राउतका कार्यकर्ताले खटाएर यात्रुको नाम, वडा नम्बर र सम्पर्क नम्बर टिपिरहेको मन नपरेको रोक्काले बताए। उनले भने, “यत्रो केरकार र झन्झट गराउँछन् भन्ने थाहा भएको भए आफैं टिकट काटेर जान्थें। गाउँ जाने गाडी भनेर आएको, उम्मेदवार सोधेका छन्‚ पार्टी सोधेका छन्।”
स्थानीय तह निर्वाचनलाई गाउँ जाने अवसरका रूपमा लिएका रोक्काले अघि उम्मेदवारको नाम भन्न नसकेका विनोद मुर्मुप्रति सहानुभूति जनाउँदै भने, “त्यो मुर्मु भाइलाई झण्डै गाह्रो पारे।”
८८ वर्षीया पूर्णमाया विश्वकर्मा पनि दशैंपछि चुनावकै मौका पारेर गाँउ जाँदै छिन्। तर‚ उनलाई कुनै पार्टीलाई भोट हाल्न मन भने छैन। सिन्धुपाल्चोकको ठोकर्पाकी विश्वकर्माले आफ्ना पाँच सन्तानको उपचार अभावमा ज्यान गएको बताइन्। २०७२ को भूकम्पले गाउँको घर भत्काएपछि काठमाडौंको जडीबुटीमा कान्छा छोरा र बुहारीसँग बस्दै आएकी उनी भन्छिन्, “यी उम्मेदवारहरूले केही गर्छन् जस्तो लाग्दैन, पैसा नभएर औषधिसम्म खान पाइएन।”
सात वर्षदेखि काठमाडौंमा बसे पनि उनलाई गाउँकै घर प्यारो लाग्छ। यो चुनावलाई उनले हेर्दा टहरा जस्तो देखिने आफ्नो प्यारो घर पुग्ने अवसरका रूपमा लिएकी छन्। “नेताहरूले हाम्रा लागि खर्च गर्ने नै यही वेला हो,” उनी भन्छिन्, “हामीलाई यिनले गाउँबाट काठमाडाैं ल्याइदिन्छन् त? के ल्याउँथे!”
विश्वकर्माकी बुहारी मञ्जु सेन्चुरी मतदान गरेको भोलिपल्ट काठमाडौं फर्कने योजना सुनाउँछिन्। उनी भन्छिन, “ल्याइदिए सजिलो‚ नत्र आफैं आउनुपर्ला नि।”
नेकपा (माओवादी केन्द्र) ले रिजर्भ गरेको बसमा जान लागेकी सेन्चुरी भन्छिन्, “जानैपर्ने भएर गाउँ जान लागेका हौं, भोट चाहिं राम्रो काम गर्नेहरूलाई दिन्छौं।”
सुर्खेत, ववहीकी अप्सरा विक र उनका श्रीमान् रामबहादुर विकले भने स्थानीय चुनावलाई नफर्कने गरी काठमाडौं छाड्ने अवसरका रूपमा लिएका रहेछन्। गत मंसीरदेखि ललितपुरको देवपुरा इँटा उद्योगमा कार्यरत यी दम्पतीले दिनरात मिहिनेत गर्दा पनि पाँच छोराछोरीको पढाइ खर्च जुटाउन नसकेपछि गाउँ फर्कन लागेका हुन्।
बालाजु बसपार्कमा भेटिएकी अप्सराले आफ्ना श्रीमान्ले भारतमा काम गर्ने सोच बनाएको बताइन्। “भोट हाल्न त अब ठ्याक जुरे जस्तो हो। आधा पैसा हामीले र आधा गाउँबाट मिलाएका रहेछन्,” अप्सरा भन्छिन्, “घर पुग्न एक जनाकै २७ सय भाडा लाग्छ, एक जनाको भाडामा दुई जना जान पाउने भएपछि हिंडेका हौं।”
ववहीको जंगल छेउमा रहेको अप्सराको घरबाट पानी लिन आधा घण्टा र विद्यालय पुग्न एक घण्टा हिंड्नुपर्थ्यो। २०७४ को स्थानीय तह निर्वाचनपछि उनको गाउँसम्मै सडक पुग्यो। उनी बेरोजगारी नै आफ्नो परिवारको प्रमुख समस्या भएको बताउँछिन्। अघिल्लो चुनावमा भोट माग्न आएका दलको आश्वासन सम्झिँदै भन्छिन्, “गाउँमै बस्ने वातावरण बनाउँछु भन्थे, कामको खोजीमा शहर बजारमा धाउनुपरेको छ।”
अप्सराका श्रीमान् रामबहादुर अघिल्लो पटक भोट माग्न आउँदा नेताहरूले खानेपानी, सिंचाइ र जङ्गलमा घेराबार लगाउने आश्वासन दिएको सम्झन्छन्। बस चढ्न ताकेता गरेर गाउँबाट तारन्तार फोन आएको उनले बताए। “चुनावपछि पनि यसरी नै सम्झेलान् त?” रामबहादुर आफैं जवाफ दिन्छन्, “के सम्झन्थे!”
चाबहिल बस्दै अएका ओखलढुङ्गाको सुनाकोसीका ८४ वर्षीय टेकबहादुर खत्री भने मतदानलाई असल नागरिकको कर्तव्य ठान्छन्। मौन अवधि शुरू भएको दिन घर फर्कन लागेका उनले भने, “काम गर्ला/नगर्ला, हामीले राम्रो मान्छेलाई भोट दिनुपर्छ।”
अर्को स्थानीय तह चुनावसम्म नबाँचिएला कि भनेर चिन्तित उनी भन्छन्, “९० वर्ष पुग्न लागियो, अर्को चुनावसम्म के रहिएला र! यसपालि गाउँ पनि पुगिने र भोट पनि हाल्न पाइने भएकाले जान लागेको।”