मापसे गरेर भोट हाल्न नपाइने
स्थानीय तह निर्वाचनमा मादक पदार्थ सेवन (मापसे) गरेका मतदाताले भोट हाल्न नपाउने भएका छन्।
निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गरी मापसे गर्नेलाई मतदान केन्द्रमा प्रवेश निषेध गरिएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनुहुँदैन।’
मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक, दृष्टिविहीन वा शारीरिक रुपमा अशक्त मतदाताको सहयोगका लागि एकाघरको सदस्यलाई भने मतदान केन्द्रमा प्रवेश गर्न दिन सकिने व्यवस्था गरिएको प्रवक्ता पौडेलले जनाएका छन्।
देशभरका ७५३ स्थानीय तहमा ३४ हजार ८६६ जनप्रतिनिधि छनोटका लागि ३० वैशाखमा मतदान हुँदै छ। आयोगका अनुसार ३५५ जनप्रतिनिधि निर्विरोध चयन भइसकेका छन्।