आजदेखि मौन अवधि शुरु‚ के के गर्न पाइँदैन?
स्थानीय तह निर्वाचनका लागि मौन अवधि मंगलवार मध्य रातिदेखि शुरु भएको छ। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान नसकिन्जेलसम्मको अवधिलाई मौन अवधि भनिन्छ।
मौन अवधिमा उम्मेदवार‚ राजनीतिक दल‚ तिनका भ्रातृ संगठनले कुनै पनि प्रकारका कार्यशाला, गोष्ठी‚ अन्तरक्रिया, सम्मेलन वा निर्वाचनसँग सम्बन्धित छलफलमा गर्न नपाउने निर्वाचन आचारसंहिता २०७८ मा उल्लेख छ।
यस्तै‚ कुनै पनि माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा जनाइएको छ। सामाजिक सञ्जाल‚ अनलाइन‚ छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश‚ सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न/गराउन नपाइने उल्लेख छ।
आचारसंहिताको ५ (छ) मा भनिएको छ, ‘मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न पनि पाइदैन।’
मौन अवधि शुरु हुनुभन्दा अगाडि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री राखिएको भए हटाउनुपर्ने छ।
निर्वाचन वैशाख ३० गते हुँदैछ। ७५३ स्थानीय तहको ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा एक लाख ४५ हजार ११ जना छन्। ती मध्ये ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष छन्। ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।