शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) मा ८७ प्रतिशत अनुत्तीर्ण भएपछि शैक्षिक गुणस्तरका विषयमा प्रश्न उठेको छ।
आयोगले गत १५ चैतमा सञ्चालन गरेको परीक्षामा ३२ हजार ९७ जना सहभागी थिए। एक महीनापछि २० वैशाखमा आएको नतीजामा तीन हजार ८८६ अर्थात १२.१० प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।
यो नतीजाले शिक्षाविद् तथा अभिभावकलाई मात्रै होइन, शिक्षा आयोगका पदाधिकारीलाई पनि झस्काएको छ। “शिक्षकको नतीजा हेर्दा हाम्रो विश्वविद्यालयको सिकाइप्रति नै प्रश्न उठाउनुपर्ने देखिएको छ,” आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा भन्छन्।
उनका अनुसार‚ आयोगले परीक्षा तयारीका लागि पाठ्यक्रम तयार गरी सार्वजनिक गरेको थियो, तर परीक्षार्थीहरूले तयारी गरेको देखिएन। “सबै कुरा सहज रूपमा राखिदिए पनि मिहिनेत गरेनन्,” मरहठ्ठा भन्छन्, “आफूले पढाउने विषयमा सबै जानकारी हुनुपर्ने भएकाले परीक्षामा त पढ्नुपर्थ्यो।”
अझै माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विषयगत परीक्षा हुनै बाँकी छ। आयोगले विभिन्न विषयमा एक हजार ५७२ पदका लागि आवेदन माग गरेको थियो। तर, लिखित परीक्षामा तीन हजार ८८६ जना मात्रै उत्तीर्ण भए।
स्वास्थ्य, शुक्लयजुर्वेद र संस्कृत व्याकरण विषयमा मधेश प्रदेशमा एक–एक पदका लागि विज्ञापन गरिएको थियो। त्यसमा एक जना पनि उत्तीर्ण भएका छैनन्।
त्यस्तै, संस्कृत भाषामा प्रदेश १ मा एक र सुदूरपश्चिम प्रदेशमा दुई पदका लागि परीक्षा लिइएको थियो। लुम्बिनी प्रदेशका लागि संस्कृत साहित्यमा एक जना शिक्षकका लागि परीक्षा लिइएको थियो। यसमा कोही पनि उत्तीर्ण भएनन्।
अन्य विषयमा पनि कम मात्रामा उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी हुने थुप्रै भए पनि उत्तीर्ण हुने निकै कम भएको मरहठ्ठा बताउँछन्।
यस्तै, नेपाली विषयमा ४१० पदका लागि आवेदन खोलिएको थियो। जसमध्ये प्रदेश १ मा ६१ जनाका लागि १२०, मधेश प्रदेशमा ३२ जनाका लागि २६, बागमतीमा ३७ जनाका लागि ४९, गण्डकीमा ५५ जनाका लागि ८१, लुम्बिनीमा २० जनाका लागि ४३, कर्णालीमा नौ जनाका लागि १३ र सुदूरपश्चिममा १९ जनाका लागि ५५ उत्तीर्ण भएका छन्।
नेपालीको भन्दा अंग्रेजीमा उत्तीर्ण हुनेको सङ्ख्या बढी छ। प्रदेश १ मा ८० का लागि ३४५, मधेशमा २२ का लागि ४८, बागमतीमा ६६ का लागि २४५, गण्डकीमा ६१ का लागि २८७, लुम्बिनीमा ३८ का लागि १७९, कर्णालीमा २० का लागि ३२९ र सुदूरपश्चिममा २७ का लागि १३६ जना उत्तीर्ण भएका छन्।
गणित विषयका लागि मधेश प्रदशमा माग गरिए भन्दा पनि कम शिक्षक उत्तीर्ण भएका छन्। मधेशमा १७ जनाको माग गरिएकोमा १५ मात्रै उत्तीर्ण भएका छन्। त्यस्तै, प्रदेश १ मा ७६ का लागि १४८, बागमतीमा ५९ का लागि १८४, गण्डकीमा ५५ का लागि १५६, लुम्बिनीमा ३७ का लागि ७७, कर्णालीमा २९ का लागि ६१ र सुदूरपश्चिममा १६ का लागि ४६ जना उत्तीर्ण भएको आयोगले जनाएको छ।
यसै गरी विज्ञानमा उत्तीर्ण हुनेको सङ्ख्या पनि उत्साहजनक छैन। प्रदेश १ बाट १२८ का लागि १६५, मधेशमा २२ का लागि सात, बागमतीमा ९१ का लागि २०७, गण्डकीमा ९८ का लागि २०२, लुम्बिनीमा ३३ का ७१, कर्णालीमा ३५ का लागि ४२ र सुदूरपश्चिममा २९ का लागि ५० जना उत्तीर्ण भएका छन्।
सामाजिक, कार्यालय सञ्चालन तथा लेखा, कम्प्युटर विज्ञानमा उत्तीर्ण हुनेको सङ्ख्या पनि उत्साहजनक छैन।
काठमाडौंको ज्ञानोदय माविका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा दक्ष जनशक्ति शिक्षण पेशामा आकर्षित नभएकाले योग्य उम्मेदवार नआएको बताउँछन्। “जति पनि दक्ष तथा योग्य जनशक्ति छन्, उनीहरू अन्य क्षेत्रमा गइसकेका हुन्छन्,” शर्मा भन्छन्, “अरू क्षेत्रबाट फिल्टर भएर अर्थात् अन्यत्र कतै नबिकेपछि शिक्षण पेशाका लागि प्रयत्न गर्ने मनोविज्ञान छ। जसले गर्दा उम्मेदवार नै कमजोर हुन्छन्।”
आयोगले परीक्षाका लागि पहिले नै पाठ्यक्रम, प्रश्नपत्रको नमूना सार्वजनिक गरेको थियो। सबै हुँदाहुँदै पनि परीक्षाका लागि तयारी नगरेको देखिएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। यो नतीजाले शिक्षक हुन जाने मान्छे कमजोर धरातलको देखिएको उनी बताउँछन्।
शिक्षकका लागि आदेवन दिएकाभन्दा पनि पढाइको गुणस्तर नै कमजोर भएको उनको बुझाइ छ। “आर्थिक र शैक्षिक रूपमा कमजोर विद्यार्थी नै शिक्षाशास्त्र पढ्न आउने गर्छन्, कमजोर व्यक्तिलाई सिकाउन शिक्षण संस्थाले नसकेको वा नजानेको हो,” कोइराला भन्छन्, “कमजोर हुनु आफैंमा समस्या होइन, कमजोर विद्यार्थीलाई कक्षाकोठाभित्र राखिसकेपछि गुणस्तरीय बनाउने प्रणाली पो राम्रो भएन कि!”
यस पटक शिक्षा सेवा आयोगले पनि परीक्षामा केही परिवर्तन गरेको छ। विषयगत परीक्षा उत्तीर्ण गर्न कम्तीमा ४० अङ्क ल्याउनुपर्छ। त्यसमा सामान्य परीक्षामा आएको ५० प्रतिशत अङ्क जोडेर ‘मेरिट लिस्ट’ का आधारमा नतीजा प्रकाशित गरिनेछ।
यो राम्रो प्रयास भएको शर्मा बताउँछन्। कमै सङ्ख्यामा उत्तीर्ण हुनु भनेको राम्रा उम्मेदवार मात्र छनोट हुनु भएको उनको भनाइ छ। “यो नतीजालाई म स्वागत गर्छु। राम्रो शिक्षक छनोट हुनु गुणस्तरीय शिक्षाका लागि राम्रो हो,” उनी भन्छन्, “कक्षाकोठामा राम्रो शिक्षक भएपछि पो गुणस्तरीय शिक्षा दिन सकिन्छ।”
शिक्षाविद् कोइराला शिक्षामा अङ्कबाट मात्र को क्षमतावान् र को कमजोर भनेर छुट्याउन नसकिने बताउँछन्। कमजोर प्रणालीकै कारण कमजोर शिक्षक उत्पादन भएको उनको भनाइ छ। जसले गर्दा बालबालिकाको भविष्य बिग्रने जोखिम देख्छन्, कोइराला।
पूर्व प्रधानाध्यापक शर्मा अब कमजोर शिक्षकले काम नचल्ने बताउँछन्। “हिजो ब्ल्याकबोर्ड र चकको भरमा पढाइन्थ्यो भने विद्यार्थी पनि घोकेर वा रटेर अध्ययन गर्ने प्रचलन थियो,” उनी भन्छन्, “आज नयाँ प्रविधि, भाषा, शब्दको विकास भइरहेको छ। पुरानो शैलीमा भनेर होइन, गरेर सिकाउने अवस्था आएको छ।”
अब शिक्षक अध्ययनशील र अद्यावधिक पनि हुनुपर्ने उनी बताउँछन्। आजको समयमा शिक्षकले किताबलाई मात्र सहायता मानेर आफूलाई अद्यावधिक गरेन भने विद्यार्थीको भविष्यमा असर पर्न सक्ने उनको ठम्याइ छ। “शिक्षक भएपछि अध्ययनशील हुनैपर्छ। समय अनुसार आफूलाई अद्यावधिक गर्नैपर्छ,” शर्मा भन्छन्, “लामो समयसम्म अनुभव भएका शिक्षक नै राम्रो हो भन्ने परिपाटी गलत हो। अब नयाँ र क्षमतावान् शिक्षकलाई प्रवेश गराउनुपर्छ।”
शिक्षाविद् कोइराला अहिले पढ्ने संस्कृति कम भएकाले विषयगत जानकारी पनि नभएको बताउँछन्। “पढाउनलाई पढ्नुपर्छ भन्ने थाहा छैन। किताब पढाउन जान्दछन्, विषय पढाउन जान्दैनन्,” कोइराला भन्छन्, “त्यसैले पनि आफूले पढाउने विषयमा पोख्त हुने मान्छे मात्र यो पेशामा आउनु ठीक हुन्छ।”