ठूला दललाई 'टक्कर' दिँदै रेशमको पार्टी
कैलालीको टीकापुर क्षेत्रमा निलम्बित सांसद रेशम चौधरीको पार्टीले ठूला दललाई टक्कर दिने देखिएको छ।
चार वर्षअघि कैलाली–१ बाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित रेशम चौधरी अहिले जेल जीवन बिताइरहेका छन्। उनको नागरिक उन्मुक्ति पार्टीले टीकापुर क्षेत्रमा जोडतोडले चुनावी अभियान चलाइरहेको छ।
तीन महीनाअघि खुलेको याे पार्टीले टीकापुर क्षेत्रका स्थानीय तहमा सत्तारुढ गठबन्धन र नेकपा (एमाले)लाई चुनौती दिइरहेको छ। कैलालीका नौ वटै स्थानीय तहमा उम्मेदवारी दिएकाे उन्मुक्ति पार्टीकाे टीकापुर क्षेत्रमा दबदबा देखिएको छ।
थारु बाहुल्य टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले थारु भाषामै प्रचार अभियान चलाइरहेको छ। सडक नाटक, गीत नाटक, म्यूजिक भिडियो लिएर कार्यकर्ता घरदैलोमा गइरहेका छन्।
टीकापुर नगरपालिकामा उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारू मेयरको उम्मेदवार छन्। त्यस्तै, सत्तारुढ गठबन्धनबाट नवराज रावल र एमालेबाट श्याम खत्री मेयरका उम्मेदवार बनेका छन्।
गठबन्धन रहेको र आफ्नो छबि पनि राम्रो भएकाले मेयरमा जित्ने गठबन्धनका उम्मेदवार रावलको दाबी छ। उनी पाँच वर्षमा टीकापुर पार्कको निर्माण सम्पन्न गर्ने, लुम्बिनी प्रदेश जोड्न संगठेघाटमा पुल निर्माण गर्ने, लगानी सम्मेलनमार्फत औद्योगिक क्षेत्रको स्थापना गर्ने, प्रत्येक वर्ष लगानी गर्ने, पञ्चायतकालमा बन्द भएको हवाइ मैदानलाई सञ्चालन गर्न पहल गर्ने, खेलकुद क्षेत्रलाई टेवा पुर्याउन बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने लगायतका योजना पूरा गर्ने बताउँछन्।
त्यस्तै, एमाले उम्मेदवार खत्री यसपटक आफ्नो पकड बढेको बताउँछन्। सत्तारुढ गठबन्धनलाई जनताले नरुचाएकै कारण आफूनो जित हुने उनको दाबी छ। कृषिलाई आधुनिकीकरण गर्ने, टीकापुरलाई पर्यटकीय क्षेत्र बनाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उनी बताउँछन्।
दुई ठूला दलका उम्मेदवारले बलियो संगठनको भरमा चुनावी अभियान सञ्चालन गरिरहेको भए पनि उन्मुक्ति पार्टीका थारु समुदायका मुद्दा बोकेर घरदैलोमा गइरहेका छन्। “हाम्रो पार्टीको संगठन बलियो नभए पनि चुनावमा फरक पर्दैन,” उन्मुक्ति पार्टीबाट मेयरका उम्मेदवार थारू भन्छन्, “यो थारू बाहुल क्षेत्र हो। यहाँका थारू मतदान नै निर्णायक हुन्, टीकापुरमा यही समुदायको चित्त बुझाउने पार्टी नागरिक उन्मुक्ति हो।”
संविधान संशोधन, थारुको हक सुरक्षित गर्ने, अलग्गै पहिचान सहितको राज्य घोषणा हुनुपर्ने लगायतका अजेन्डा बोकेर घरदैलोमा गइरहेको उनले बताए।
यसैगरी, उन्मुक्ति पार्टीले जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र भजनी नगरपालिकाको मेयरमा केवल चौधरीलाई उम्मेदवार बनाएको छ।
कांग्रेसबाट जानकी गाउँपालिकामा परशुराम महतो, एमालेबाट टेकबहादुर बम, जसबाट दिनेशकुमार चौधरी अध्यक्षका उम्मेदवार छन्। यसैगरी, जोशीपुरमा एमालेबाट केशवबहादुर डगौरा, कांग्रेसबाट वन्सराम वडायक र जसपाबाट चन्द्रप्रकाश चौधरी अध्यक्षका उम्मेदवार बनेका छन्। भजनी नगरपालिकामा एमालेले हर्कबहादुर बुढा, माओवादीले शेरबहादुर चौधरी र जसपाले लक्षीराम चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ।
टीकापुर घटनाको मुद्दा खारेजी र रेशम चौधरी रिहाइको माग उठाएर उन्मुक्ति पार्टी प्रचारमा गइरहेकाले ठूला दललाई चुनौती बनेको नागरिक समाजका अगुवा दिलबहादुर चौधरी बताउँछन्। यी दुई विषयमा थारु समुदायसँगै पहाडी समुदाय पनि सहमत छन्। “नागरिक उन्मुक्ति पार्टीले जितेपछि रेशम जेलबाट बाहिर आउँछन् भन्ने हल्ला फैलिएको छ,” थारु भन्छन्, “यसले मतदातालाई प्रभावित पार्नसक्छ।”
२०७२ भदाै ७ गते भएको टीकापुर घटनामा सुरक्षाकर्मीसहित नौ जनाको ज्यान गएको थियो। त्यसमा निलम्बित सांसद चौधरीसहित ५८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। जसमा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।
त्यसका विरुद्ध उनी सर्वोच्च अदालतमा पुगेका छन्। उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ भने उनी जेल सजाय भोगिरहेका छन्। अहिले आएर टीकापुर क्षेत्रमा यसलाई चुनावी मुद्दा बनाइएको छ।