उम्मेदवारलाई सोधौं‚ तपाईंको ग्रीन एजेन्डा के छन्?
एक राजनीतिकर्मीमा पर्यावरणीय चेतना भए मात्र उसले पर्यावरण संरक्षण तथा सुधारका नीति तर्जुमा गरेर कार्यान्वयनमा ल्याउन सक्छ। त्यसैले मतदाताले आफ्ना क्षेत्रका उम्मेदवारहरूलाई ‘तिम्रा ग्रीन अजेन्डा के छन्?’ भनी प्रश्न गर्नुपर्छ।
कोभिड १९ का कारण गरिएको बन्दाबन्दीले दुई वर्ष चिडियाखानामा थुनिएको पन्छी सरह भएँ। म निस्सासिएँ। बन्दाबन्दी खुल्नसाथ प्यारो स्वदेश भ्रमणका लागि उडिहालें। दुई महीना नेपालका विभिन्न ठाउँको यात्रा गरें।
स्थानीय तह निर्वाचन सँघारमै आइपुगेको वेला उक्त यात्रामा सँगालेका अनुभव लेख्न उचित ठानेको छु। लेखमा पर्यावरणलाई राजनीतिसँग मिसाएको छु। पर्या लेखन अथवा ईको राइटिङसँग जोडिएर आउने विभिन्न धारहरूमध्ये पर्या–राजनीति (इको-पोलिटिक) नयाँ धारको लेखन हो।
मलाई लाग्छ‚ एक राजनीतिज्ञमा पर्यावरणीय चेतना भए मात्र उसले पर्यावरण संरक्षण तथा सुधारका नीति तर्जुमा गरेर कार्यान्वयनमा ल्याउन सक्छ। त्यसैले मतदाताहरूले आफ्ना क्षेत्रका उम्मेदवारहरूलाई “तिम्रा ग्रीन अजेन्डा के छ?” भनी प्रश्न गर्नु आवश्यक छ। स्थानीय तह निर्वाचनमा प्रायः राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा वातावरणीय अजेन्डा समावेश गरेका छन्। तर‚ त्यो चुनावी नारा जस्तो मात्र मलाई लागेको छ।
जनतासँग सरोकार राख्ने धेरै विषयमध्ये पर्यावरण संरक्षण प्रमुख विषय हो। जनताका सेवा गर्छु भनी जनप्रतिनिधि हुने योजनामा रहेका उम्मेदवारका वातावरण संरक्षण र संवर्द्धनका लागि के कस्ता प्रतिवद्धता छन्? त्यो अवगत गराउन आवश्यक छ।
विश्व सामु हेरिटेज शहरका रुपमा चिनिएको काठमाडौंको दूरावस्था छ। यहाँका सडक किनारमा फोहोरको डंगुर छ। धुलो‚ धुवाँ उडिरहेको छ। ढल फुटेर फुटपाथ र सडकमा बग्छ‚ पैदलयात्रीहरू त्यहींमाथि टेक्दै हिँड्न बाध्य छन्। बागमती‚ विष्णुमती नदीमा ढल, प्लाष्टिकका झोला मिसिएको लेदो बग्छ। गाईले कागजका कार्टन चपाइरहेको दृश्य यहीं देखिन्छ। लगातार बजाइने गाडीका हर्न र खाल्डाखुल्डी सडकका कारण गाडीबाट निस्किएको कर्सक ध्वनिले शहरवासी आजित छन्। यी कुराले मेरा आँखा बिझाए।
काठमाडौंपछि चितवन, बुटवल, भैरहवा, पाल्पा, गुल्मी, बागलुङ हुँदै पोखरा पुगें। काठमाडौं फर्किएपछि हवाईमार्ग हुँदै विराटनगर पुगें। विराटनगरबाट सडकमार्ग हुँदै इटरी, धरान, उर्लाबारी‚ दमक र भारतको सीमामा रहेको झापाको काँकडभिट्टा पुगें। अनि भद्रपुरबाट हवाईमार्ग हुँदै काठमाडौं फर्कें। यी ठाउँका हावा, नदीनाला र जमिन प्रदूषित पाएँ। प्लाष्टिक तथा निर्माणजन्य प्रदूषणले भरिएको पाएँ।
भ्रमण फागुनको अन्तिमदेखि वैशाख शुरूसम्म भएको थियो। यस अवधिभरि एक थोपा पनि वर्षा भएन। यति लामो अवधि खडेरी पर्नु जलवायु परिवर्तनका कारण हो। यस्तै‚ नेपालमा अहिले भइरहेको धुवाँ र धुलो उत्सर्जनका कारण पनि यस्तो भएको हो। नेपालमा मानव उत्सर्जित धुलो र धुवाँले वायुमण्डललाई चौबीसै घण्टा लपेटेको छ। यसका प्रमुख कारण‚ यातायातका साधन धुलौटे बाटोमा गुडाउनु, पिच गरिएका बाटो पनि मर्मतसम्भार नगरिनु, घर तथा बाटोघाटो निर्माणका लागि जथाभावी गिट्टी, बालुवा, माटो, ढुङ्गा थुपारिनु हो। यस्तै‚ इँटाभट्टा‚ सिमेन्ट उद्योग तथा कलकारखानाबाट उत्सर्जन हुने धुवाँले वायुमण्डल प्रदूषित भएको छ।
विराटनगरबाट इटहरी जाने क्रममा म चढेको गाडीका ड्राइभरले भने, “हिजो यहाँका जनताले सडक अवरोध गरेका थिए सर। जाममा तीन घण्टा परियो।” मैले कौतुहलका साथ सोधें‚ “किन?” यहाँको सडक स्तरोन्नति भइरहेकाले त्यहाँबाट उड्ने धुलोले आजित भएपछि स्थानीयले अवरोध गरेको ती चालकले बताए।
चितवनदेखि बुटवल लाग्दा राजमार्ग स्तरोन्नतिका लागि डोजर र एस्काभेटरले खनेर उदाङ्गै छोडिएको रहेछ‚ बाँझो खेतलाई जोतेर छोडे जस्तै। चैतको गर्मी‚ ट्राफिक जाम थियो। म चढेको गाडी एयरकन्डिसन जडित थियो। सिसाको झ्यालबाट बाहिर धुलोको कुहिरीमण्डल देखिन्थ्यो। लाग्थ्यो, धुलोको आँधी चलिरहेछ। बुटवल पुग्दासम्म धुलोले छोडेन। सडकको दायाबायाका घर र सालका रूखहरूको अवस्थालाई देख्दा हताश भएँ। उक्त सडकखण्डको यात्रामा दर्जनौं कल्भर्ट र पुलको निर्माण सकिन बाँकी रहेको देखियो। आउँदो असार साउनको बाढीले अधुरै रहेका ती संरचना बगाएर लगिदिने प्रवल सम्भावना थियो।
धुलोमा PM2.5 र PM10 भनिने वैज्ञानिक नाम गरिएका सूक्ष्म कणहरू हुन्छन्। तिनले फोक्सोलाई पुर्याउने असर विकराल हुन्छ। प्रदूषित हावाबाट बर्सेनि हजारौं मानिस मृत्युको मुखमा पुगेका हुन्छन्।
निर्माण परियोजनाको काम यात्रुलाई सास्ती नहुने तरिकाले पनि गर्न सकिन्छ। जस्तै‚ स-साना ५–६ किलोमिटरका सेक्सनमा विभाजन गरेर बाटो स्तरोन्नति गर्ने। एउटा सेक्सनको निर्माण सकिएपछि मात्रै अर्को सेक्सनमा काम शुरु गर्ने। धुलोलाई उड्न नदिन पानी छ्यापिरहनु पर्छ।
पाल्पा हुँदै गुल्मी र बागलुङको यात्रामा झनै भयानक पर्यावरणीय क्षय देखें। डोजरले पाखापखेरा खनेर सडक बनाइएका थिए। बढीघाट खोलाको तीरैतीर र बेंसीदेखि पहाडको छातीमा नागबेली आकारमा उक्लँदै गरेका धुलाम्मे धर्साहरू देखिए। खोलामा बडेमानका पुलहरू बनाउँदा बनाउँदै छाडिएका थिए। खोला र पुलबीचको दूरी अपर्याप्त लाग्ने खालका थिए। पर्खालले नछेकिएका पुलका दुवै किनारका पिलरहरू। यी दृश्य देख्दा इन्जिनीयरिङ कमसल लाग्थ्यो। मनमनै सोचें‚ गत वर्षको मनसुनदेखि आजसम्म देशभरि दर्जनौं त्यस्ता सडकहरू इन्जिनीयरिङ मापदण्ड पूरा नगरी निर्माण गरिएका छन्। असार मसान्तमा हतारहतार निर्माण गरिएका होलान्।
भद्रपुर–काठमाडौं र पोखरा–काठमाडौंको हवाई यात्रामा तलको भू-भाग पकाएको चाउचाउलाई पातलो गरी छरिएको जस्तै देखें। यद्यपि‚ तुवाँलोले त्यति क्लियर देखिएन। मलाई लाग्छ, यस्तोखाले डोजरे विकासका कारण आउने दिनहरूमा ‘मेलम्ची विपत्ति’ जस्तै दर्जनौँ सङ्ख्यामा विपत्ति भोग्नुपर्ने छ।
काठमाडौं-चितवनको यात्रामा त्रिशूली छेउछाउका वनका रुखहरू खैरो देखिन्थे। रूखका पातमा धुलोको बाक्लो तह जमिएका थिए। यस्तो हुँदा सूर्यको प्रकाश ग्रहण गर्न नसकी बोटविरुवाले आफ्नो खाना (ग्लुकोज) बनाउन सक्दैनन् र दीर्घकालमा रुख मरेर जाने सम्भावना हुन सक्छ।
के शहरबजार‚ के गाउँ, जता पनि फोहोरमैला। म अघिल्लोपल्ट आउँदा काठमाडौंको रत्नपार्क, डिल्लीबजार, टुँडिखेल, बागबजारमा दुई-चार दिनसम्म नउठाइएका फोहोर डुङडुङ्ती गन्हाइरहेका हुन्थे। अहिले पनि उस्तै अवस्था देखेँ। बागबजारको पद्मकन्या क्याम्पस अगाडिको फोहोरको थुप्रोले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई जिस्काइरहे झैं लाग्यो।
टेलिफोन र बिजुलीका बाङ्गा पोल‚ तिनै पोलमा टाँसिएका राजनैतिक तथा व्यापारिक विज्ञापनका पोष्टर। टेलिफोनका पोलमा गुजुल्टिएका टेलिफोन र इन्टरनेटका तार, एउटा पोलदेखि अर्को पोलमा टाँगिएका तुलहरू। यी दृश्य र हाम्रो मुलुकका ठूल-ठूला राजनैतिक दलहरूको अवस्था उस्तै झै लाग्यो।
पाल्पा पुग्दा बतासे डाँडाको सल्लाघारीमा फोहोर थुपारिएको र फोहोर जलाउँदा निस्किएको दृश्यले मलाई दुःखित तुल्यायो। रिसाइकल गर्न सकिने फोहोरलाई रिसाइकलिङ, गाडेर कुहाउन सकिनेलाई कुहाएर र सड्नगल्न नसक्नेलाई ल्यान्डफिलमा लगेर विसर्जन गर्न सकिन्थ्यो। हरियो सल्लाघारिमा लगेर किन जलाएका होलान्! फोहोरमैलालाई व्यवस्थापन गर्न ‘सार्वजनिक जग्गा’ छैन भनी सरकार सञ्चालकहरू भन्छन्। सडक, एयरपोर्ट इत्यादि बनाउन जनताको जग्गा अधिग्रहण सक्ने सरकारले ल्यान्डफिल निर्माण गर्न जग्गाको व्यवस्था किन गर्न नसकेको होला?
शहरबजारमा जाँड खाने भट्टी र होटेल, पार्टी प्यालेस‚ सपिङ गर्ने ठूलठूला सपिङ मलहरू छन्। तर‚ एकैछिन् टहलिने फूलबारी र पार्क छैन। हिँड्डुल र व्यायाम गर्ने खुला चौर छैन। यसका लागि पनि जमीन नै छैन भनी स्थानीय तहका जनप्रतिनिधिहरूको गुनासो सुन्नुपर्छ। सरकारले खाली जग्गा किनेर कम्तीमा प्रत्येक वडामा यस्ता संरचना निर्माण गर्नुपर्छ।
काठमाडौंमा रहँदा मलाई त्यहाँका होटेल‚ रेस्टुरेन्टका चिल्ला शौचालय प्रयोग गर्न असहज लाग्थ्यो‚ मैले गरेको शौच बागमतीमा सिधै मिसिने हो भनेर। फोहोर पानी ढलबाट प्रशोधन केन्द्रमा पुर्याकउनुपर्ने हो। केन्द्रमा प्रशोधित तरल पदार्थ खोलानालामा विसर्जन गरिनुपर्ने हो। यसरी विसर्जन गरिएका फोहोरले दुर्गन्ध उत्सर्जन गर्दैन। तर‚ स्थानीय सरकार जिम्मेवार नहुँदा काठमाडौंको फोहोरको उचित व्यवस्थापन भएको छैन। फोहोरका कारण काठमाडौंवासीको स्वस्थ्य जोखिममा परेको देखें।
नेपालको संविधानले हरेक नागरिकलाई जान्न र सुन्न पाउने हक प्रत्यभूत गरेको छ। आम नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ। त्यस कारण सँघारमै आएको स्थानीय तह चुनावका हरेक उम्मेदवारलाई गाउँ तथा शहरमा स्वच्छ वातावरण कायम राख्ने तपाईंको ग्रीन ऐजेन्डा के छन् भनेर प्रश्न राख्नुहोस्। तपाईंले जितेपछि माथि उल्लिखित वातावरणीय समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ भनी प्रश्न गर्नुहोस्। चित्तबुझ्दो उत्तर पाए मात्र आफ्नो अमूल्य मत खसाल्नुहोस्। हाम्रो मान्छेभन्दा राम्रो मान्छेलाई मतदान गरेर आफ्नो मत र लोकतन्त्रले प्रदान गरेको आफ्नो हक र अधिकारको सदुपयोग गर्नुहोस्।