‘नेपाली जनता जस्तो अनुशासित संसारमा कोही छैन’
‘रछ्यानमा फोहोर छ, त्यसलाई सफा नगरीकन तपाईले सरसफाइमा पीएचडी गरेर मात्रै हुन्छ? आफै गएर कुचो लगाए पो सफा हुन्छ। मैले गर्ने त्यही हो।’
स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवार मतदाताको घरमै पुगेर मत मागिरहेका छन्। ३० वैशाखमा हुने निर्वाचनका लागि देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ। काठमाडौंको मेयरका लागि एक दर्जनभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। २०५४ मा काठमाडौंको नेतृत्व गरिसकेका केशव स्थापित २५ वर्षपछि फेरि नेकपा (एमाले)बाट मेयरको उम्मेदवार बनेका छन्। उनै स्थापितसँग हिमालखबरका लागि देविका घर्ती मगरले गरेको कुराकानीः
निर्वाचनको दिन नजिकै आइसक्यो। तपाईँको चुनावी अभियान कसरी चलिरहेको छ?
प्रत्यक्ष रूपमा जनताको घरदैलोमा पुगेर वडा, टोलमा पुगेर भेटघाट, छलफल भइरहेको छ। दैनिक तीन सिफ्टमा काम गरिरहेका छौ। चुनावी माहोल हाम्रो पक्षमा गइरहेको छ।
अर्को पक्षबाट दर्शन, पार्टी, संगठन बोकेर नीति, कार्यक्रम काठमाडौं कस्तो बनाउने भनेर सार्वजनिक मञ्चमा आउने प्रतिनिधि नै पाइएन। अर्को पक्ष पनि यसरी नै आएको भए विचार, दर्शन, कार्यक्रम, शहरी योजनाको कुरा देशब्यापी रुपमा जान्थ्यो। म नयाँ जोश, आँट गरेर आएको छु।
हाम्रो चुनावी अभियान एकदमै व्यवस्थित रुपमा मतदाताको घरदैलो, टोल-टोलमा पुगेको छ। अब समय अत्यन्तै कम छ। म सकभर सबै मतदातासमक्ष पुग्ने कोसिस गरिरहेको छु।
तपाईँ त २५ वर्षअघि नै मेयर निर्वाचित हुनु भएको थियो। फेरि उम्मेदवार बनेर घरदैलोमा गइरहनु भएको छ। त्योवेला अहिले त धेरै फरक भइसक्यो, काम गर्न सकिन्छ?
पहिले एकखाले निराशाको स्थित थियो। त्यतिवेला यो मुलुक ..ले सरापेको, बन्नै सक्दैन, लथालिङ्ग, भताभुङ्ग छ, हुँदैहुँदैन, मुलुक बन्दैन भन्ने निराशाको स्थिति थियो। त्यतिवेला म मेयर हुँदा धेरै काम गरियो भन्ने गरिन्छ। मेरो त्यसमा केही ठूलो दाबी छैन, तर उपयुक्त मान्छे उपयुक्त ठाउँमा पुगेपछि बन्दोरहेछ भन्ने विश्वास जागेको थियो। त्यो मैले गरेका कामबाट नै भएको हो।
त्यतिवेला मलाई ५५० वटा त मुद्दा लाग्यो। ती मुद्दा काम गरेकै कारण लागेका त हुन्। त्यसैले गरेपछि काम हुन्छ है भन्ने विश्वास मान्छेमा जागृत भयो, यो मेरो दाबी हो।
हामीले ‘ल्यान्ड पुलिङ’ गर्यौँ। त्यतिवेला सम्भवै छैन भनेका थिए, आज विश्वव्यापी भयो। विष्णुमतिको करिडोर खोल्दा कत्रो अवरोध भएको थियो। गर्नै दिन्नौं, हुँदैन भन्थे गरेर देखायौँ। त्यतिवेला स्थानीय निकायमा अधिकार आउनुपर्छ भन्दा दिनुहुदैन भन्थे, अहिले त स्थानीय सरकार नै आयो। त्यसैले त्यतिवेला मूलभूत रुपमा उठाइएका विषय ठीक थिए भन्ने हो।
त्यतिवेला वातावरण भन्ने विषय नै थिएन, त्यस्तो विभाग पनि थिएन। हिजो शहरी विकास विभाग भन्ने नै थिएन। हामीले व्यवस्थित रुपमा शहरी विकासको कामको थालनी गर्यौं। व्यवस्थित, संगठित मान्छे राखेर योजना आयोग बनायौं। मैले भन्न खोजेको त्यो काम गर्दा हुन्छ है भन्ने विश्वास हो।
आवाज उठाउने ठाउँ चाहिन्छ भनेर माइतीघर बनाएको हुँ। पहिले त जताततै पर्खाल लगाउने, प्रवेश निषेध गर्ने, मान्छे जम्मा गर्न नदिने थियो। मैले त्यसलाई तोडेको हुँ। त्यतिवेला स्थानीय निकाय भएकाले मैले उठाएका धेरै विषयको मतलब नै गरिएन।
अहिले मैले फरक देखेको भनेको मसँग यो शहरमा काम गर्ने, मोबाइल हातमा राख्ने, विश्वको ज्ञान राख्ने, सबैबारे ‘ट्रयाक’ गर्नसक्ने मान्छे छ। यस्ता मान्छे डेढ-दुई लाख छन्। एक-डेढ लाख त मतदाता छन्। सिङ्गो विश्वसँग म प्रतिस्पर्धा गर्छु भन्ने नयाँ पुस्ता छ, सचेत मान्छेहरू छन्। उनीहरू यो शहरका शक्ति हुन्, उर्जा हुन्।
पहिलेको जस्तो जातभात, अलानो-फलानो, धर्म, विभेद् भन्ने कुराहरू नयाँ पुस्तामा छैन। विविध क्षेत्रको अनुभवीहरूलाई निकाल्दा त हामी पुराना भइसक्न लागेको जस्तो अवस्था आइसकेको छ। त्यसैले मेरो कर्म यति हो, यो समय भनेको पुस्तान्तरणको समय हो। अब शक्ति बाँडफाँडको समय शुरू भयो। मैले त्यो जगमा बसेर केही आँट गरे भने राम्रो काम गर्न सकिन्छ। यो सम्भव छ भन्ने मेरो विश्वास हो।
स्थानीय सरकार भने पनि त्यो शक्तिको विकास भएको छैन। मैले काग गर्न महानगरलाई चार अर्बले पुग्दैन, ४० अर्ब दिनुपर्छ। अहिले पशुपति विकास कोष कसको? विद्युत कसको? अन्य संस्था कसका? अब संघले आगटेर राख्नु हुँदैन, स्थानीय सरकारलाई जिम्मा दिनुपर्छ। अहिलेको भन्दा १० गुणा बढी राजस्व उठाउन सक्छौं, अनि न सेवा गर्न पाइन्छ।
तपाईँले नयाँ पुस्ताको कुरा गर्दै हुनुहुन्छ। धेरै युवा त राजनीतिलाई फोहोरी खेल भन्ने गरेका छन्। उनीहरूलाई समेट्ने गरी कसरी काम गर्नुहुन्छ?
यो गलत कुरा हो। नयाँ पुस्तामा वितृष्णा छैन। मैले ६ महीनाका लागि विश्वास विकास गर्ने समय भनेको छु। त्यसैले यसलाई स्थानीय सरकार कसरी बनाउने भन्ने मैले तीन-चार वटा कुरा उठाएको छु। पहिलो, मेयर जुनसुकै समयमा उपलब्ध हुनेछ। एकदमै सरल रूपमा प्रस्तुत हुनेछ, ‘डाउन टु अर्थ’ हुनेछ।
हामीले जित्छौं, जितेपछिको खुशीयाली एक दिनकोे हुन्छ। कुनै ठाउँको सगुन कार्यक्रम हुँदैन। एकदिन सबैले खुशीयाली मनाउँछन्।
दोस्रो दिनदेखि मैले सार्वजनिक सुनुवाई गर्छु। सभागृहमा खुला रूपमा जहाँ सबैजना आउन पाउनेछन्। स-साना गुनासो सुन्छौं। तथ्यमा जान्छौं। माथिबाट गर्ने भन्ने हुँदैन, जनता बोल्नुपर्छ। मेरो चोकमा, गल्लीमा मेरो इनार हो कि फलाना के हो बनाउनुपर्ने भन्नुपर्छ। हरेक दिन सुन्छु।
अर्को, संगठित समूहहरूसँग कुरा गर्छु। योजना आयोग जस्तो बनाउँछौं। यसरी व्यवस्थित रुपमा सबै क्लस्टर, सबै विभागको काम हुन्छ। जनताका गुनासो, समस्या सुन्छु। अरु समस्या भन्छ म त अवसर भन्छु। धेरै विषय आउँछन्, त्यसलाई सुद्धिकरण गछौं।
हामीले ४०-५० वटा काम छनोट गरेका छौं। सांस्कृतिक पुनःउत्थानका लागि ४८ वटा मन्दिर चिह्न लगाएको छु। ती मन्दिरलाई मान्छेले भुलिसके, किनकि, १९९० सालको भूकम्पपछि त्यसको विषय नै उठेन। जस्तो इन्द्रचोक छेउको आकाशभैरवको सन्तानेश्वर यस्तो गजबको मन्दिर छ। मलाई त्यसको सबै कुराबारे जानकारी छ। अहिले खण्डहर भएको छ। यस्ता ४८ वटालाई मैले पुर्निर्माणको जग हाल्छु।
काठमाडौं वरिपरिको जगडोलदेखि स्वीजरल्यान्ड पार्कसम्म र अरू ठाउँमा मान्छेसँग छलफल गर्छु। महानगरको अगुवाईमा ६ महीनाभित्र सुन्दर पार्कहरू बनाउँछौं। ताकी युवाले जीवनको कथा हाल्ने ठाउँ त होस्। त्यहाँ गएर अक्सिजन खाने, आफ्नै जीवनबारे अध्ययन गर्ने, अलिकति संगीत सुन्ने, चरा, पुतलीसँग खेल्ने, फूलहरूबारे अध्ययन गर्ने, चर्चा गर्ने, जीवनमूखी मान्छेलाई ‘ड्राइभ’ गर्ने ठाउँ बनाउँछौं। यति गरेपछि युवा खुशी भइहाल्छन्।
कुनै द्वन्द्वकारी कुरा गर्नुभएन। शौचालय नबनाउने अनि फलानो ठाउँमा शौच गरेमा कारबाही गर्ने भन्ने हुन्न। मोटरसाइकल स्ट्यान्ड नबनाउने अनि मोटरसाइकल पार्किङ गर्न पाइन्न भन्ने हुँदैन। त्यसकारण म यी कुरामा ध्यान दिन्छु। महानगरमा व्यवस्थित शौचालय छैन, पार्किङको ठूलो समस्या छ। हेर्दा सानो लाग्छन्, तर यी ठूला समस्या हुन्। यी कुराहरूको सम्बोधन गर्छु।
मसँग ‘ब्याकअप’ टिम छन्। देशका सबैभन्दा उत्कृष्ट मान्छेहरू मसँग छन्। उनीहरूसँग सरसल्लाह गरेर काम गर्छु।
काठमाडौंमा सबैभन्दा बढी जथाभावी पूर्वाधार निर्माणले पनि समस्यामा आएका छन्। पूर्वाधार विकासका योजनाहरू के छन्?
मलाई अहिले पनि मेयर साब भन्छन्। त्यो उतिवेला मेयर हुँदा काम गरेका कारणले भनेका हुन्। मेरो नाम केशव स्थापित होइन, मेयर साब भन्ने गरिन्छ। पूर्वाधार विकासकै केही कामहरू गरेकै कारणले होला। विष्णुमती ‘लिंक रोड’ खोल्ने पेला पनि त ढुंगा हानेकै हो नि। हामीले सहेकै हो। धोबिखोला खोल्दाखेरि पनि त हुन सक्दैन भनेको हो नि। बागमती करिडोर खोल्यौं, दायाँबायाँ।
त्यसकारण म के चाहन्छु भने काठमाडौं उपत्यका विकास प्राधिकरण हाम्रो मातहतमा आउनुपर्यो। यी सडकहरू हाम्रो मातहतमा आउनुपर्यो। फोहोरमैला व्यवस्थापन पनि हाम्रो मातहतमा आउनुपर्यो। त्यसपछि एउटा टेबलबाट योजनाहरू बन्छन्। हामीसँग स्रोत भयो, जनशक्ति छ, क्षेत्राधिकार नाघेर त काम गर्न सकिदैन।
सार्वजनिक ठाउँहरू सबै संघीय सरकारको कब्जामा भएपछि सार्वजनिक शौचालय कहाँ बनाउने? मैले ५० वटा जति ‘अर्बन सर्भिस सेन्टर’ बनाउछु भनेको छु। त्यो बनाउन सरकारले जग्गा अधिग्रहण गरिदिनुपर्यो, बजार मूल्य दिन्छौं। ती जग्गामा तीन-चार तला कार पार्किङ, सपिङ कम्प्लेक्स बनाउँछौं। सिन्कादेखि हिरासम्म सबै त्यहिँ पाउँछ। सार्वजनिक शौचालय बनाउनैपर्यो। अहिले जस्तो असरल्ल रक्सी पसल हुँदैन, त्यहि व्यवस्थित गरेर राख्न सकिन्छ।
हामीले ‘नो हर्न’ भन्यौ, कसैले हर्न बजाएन। नेपाली जनता जस्तो अनुशासित संसारमा कोही पनि छैन। त्यसैले, हामीले आफ्नो कर्म गर्नुपर्छ, जनताले मानिहाल्छन्।
काठमाडौंमा साढे दुई सय वटा पर्खालले घेरेको सम्पत्ति (भवन) छ। किन घेरेको त्यहाँभित्र भ्रष्टाचार गर्नलाई? त्यो पर्खाल फुटाउँनुपर्छ। अलिअलि पानीको फोहरा, अलिकति हरियाली, फूलहरू लगाउनुपर्छ। बाहिरबाट देख्न सकिने भएपछि मान्छेको मन पनि खुल्ला आहा भन्ने हुन्छ। मान्छेहरू प्रफुल्लित हुन्छन, कवि हुन्छ, कलाकार हुन्छ, हाइकु लेख्न थाल्छ। राजदरबार वरिपरिको ६ सय रोपनीमा किन पर्खाल लगाएको? त्यो ६ सय रोपनी खुला भएपछि काठमाडौंको मुटु कस्तो होला? मैले यस्ता २५० वटा ठाउँ पहिचान गरेको छु। खुल्ला बनाउँछु।
राजदरबार वरिपरिको पर्खाल तोडेर फूलैफूल भएको ठाउँ बनाउँनुपर्छ। बालबालिकालाई सित्तैमा प्रवेश दिनुपर्छ, चकलेट पनि। दिनको ५० हजार नानीहरू आउनेजाने भएपछि त्यो ठाउँ अर्कै हुन्छ। बच्चाको चेतनाको विकास गर्छ। हामीले अहिले होटल हायातलाई धन्यवाद भन्नुपर्छ। कमसेकम पर्खाल तोडेर भित्रको हायातको कम्प्लेक्श त देखियो नि। यस्ता सानो सानो कुरा पनि महत्त्वपुर्ण हुन्छ।
मसँग विश्वका उत्कृष्ट मान्छे छन्। मभन्दा योग्य मान्छेहरू मेरो योजना बनाउने टिममा छन्। मादल मैले बजाउने होइन, व्यवस्थापन गर्ने मात्रै हो। धुन निकाल्ने क्षमता चाहिँ हुनपर्छ।
मैले १०-२० वटा जिम क्लब खोलौं भनेको छु। कमसेकम ध्यान गर्ने, योग गर्ने विपश्यना केन्द्रहरू खोलौ। चित्त सुद्ध होस् नि। ध्यान गर्दा यो मेरो शहर हो भन्न पाए भने हुन्छ। त्यसकारण भौतिक पूर्वाधार निर्माण त मैले गरिआएको काम हो। मलाई संसारभरका निर्माण कम्पनिबारे थाहा छ। तर, पप्पुले ठेक्का पाउदैन।
एउटा ‘क्विक रेस्पोन्स टिम’ चाहिन्छ। खाडल भइरहेको हुन्छ, बुढाबुढी लडिरहन्छ, पानीले छोपिरहेको हुन्छ। अनि फाइल उठाएर माथि जाने, मेयर कहाँ जाने? त्यो टिमले १५ मिनेटभित्र त्यहाँ हाजिर भएर काम गर्ने हो। कागजी प्रक्रियाका काम पछि गर्दैगर्ने हो।
त्यसैले यो एमाले, कांग्रेस भन्ने हुँदैन। सबैलाई शहर बनाउने अभियानमा ल्याउने क्षमता मसँग छ। त्यो क्षमता प्रदर्शन भइकन थाहा हुदैन।
हामीकहाँ प्रशासनिक र राजनीतिक हस्तक्षेप पनि चर्को हुने गरेको छ। ती कुरालाई कसरी चिर्नुहुन्छ?
यसमा सन्देह नगरौँ। रानीपोखरी मेरो थियो र? मेरो बुवा बितेको भोलिपल्ट तोडेँ। हिजो एकीकृत जग्गा विकास गर्दा मेरो क्षेत्रकाधिकार थियो र? दिने कि नदिने भन्ने औला ठड्याएको अवस्था थियो। त्यसमा पनि सफल भए। अदालतमा जाने भन्ने हुन्छ। के न्यायाधीशहरू मुर्ख हुन् र? श्रीमान् मलाई अन्याय पर्यो, हजुर। यति मुलुक बनाउन पाए हुन्थ्यो भन्नुपर्छ। उहाँहरू पनि यही बस्नुहुन्छ। मलाई संविधानप्रदत्त यति अधिकार दिलाइपाउँ भनेर भनेपछि भोलिपल्टै मिलिहाल्छ। भएन भनेर बस्ने भए किन मेयर चाहियो?
अहिले म ध्यान गर्ने, योग गर्ने, जिम गर्ने गर्छु। यो सबै किन सिकेको भन्दाखेरि त्यसको तयारी हो नि। त्यो तयारीबीचमा खाली बसेको छैन। अहिले त झन् म परिपक्व भएको छु। मैले अलिकति इटालियन टेक्नोलोजी पनि पढेको छु। यी झ्यालहरू, पुरातात्विक वस्तुहरू खतम भए भन्ने होइन। अहिले संग्रहालयमा ६ हजार आर्टिफ्याक्ट छ। त्यो हेरेर अलि परिवर्तन गर्ने हो। संसारभर हाम्रो आर्टिफ्याक्ट जान्छ।
हाम्रो कलाको विकास गर्ने हो। संस्कृतिको परिचय दिने हो। पहिले ढुंगाको बनाएका थिए, अहिले फमको बनाउला। जोसँग जे कुरा छ त्यसलाई त्यो कुराको जिम्मेवारी दिएपछि काम राम्रो हुन्छ। यही भएका व्यक्तिहरू विकासको लाभ लिन सकेका छैनन्।
मैले ‘कोर सिटी’मा एकदमै ध्यान दिएको छु। बाहिरबाट ठीकै छ, भोज पनि गरेको छ। विभिन्न संस्कार, संस्कृति, पर्वहरू मनाएका छन्। संस्कृति जोगाएको छ। तर, आर्थिक अवस्था के छ, मलाई थाहा छ। मान्छे नै बिस्थापनमा परेका छन्, कहाँनेर सांस्कृतिक सम्पदा बाँकी रहन्छ। यसलाई पुनर्जागृत गर्नुपर्छ।
अव्यवस्थित बसोबासी ६ हजार छन्। पहिलो कार्यकालमा सबैभन्दा पहिले परिचयपत्र अव्यवस्थित बसोबासीलाई दिएको हुँ। आउनुस्, अवसर खोज्ने भए म जिम्मा लिन्छु भनेको हुँ। जहाँ बसेका छन्, त्यहि जमिन दिने हो। त्यही बसेर जीवनका कथा हाल्छन्।
मलाई काठमाडौंको भित्री शहरको एक मिटरको कथा पनि थाहा छ। ताम्राकारको गल्ली भनेर जति पनि तामाको वस्तुहरू किन्ने ठाउँ भयो भने मान्छे पनि बाच्ने भए, सांस्कृतिक सम्पदा पनि जोगिने भयो। त्यसकारण यी कुरा बुझ्ने मेयर हुनुपर्छ। रछ्यानमा फोहोर छ, त्यसलाई सफा नगरिकन तपाईले सरसफाइमा पीएचडी गरेर मात्रै हुन्छ? आफै गएर कुचो लगाए पो सफा हुन्छ। मैले गर्ने त्यहि हो।
म प्रमाणित मान्छे हुँ। बुवा बितेको भोलिपल्ट जोत्न गएको छु। माइतीभर मण्डल बनाएको छु, राति गएर आफै उभिएको छु। म त्यहाँ उभिएको कारणले मण्डल बनाउने साथीहरूले रातभरि काम गरे।
आज काठमाडौंमा केही छैन। एलिजाबेथ आउने भए कस्तो होला? केही दिनभित्र फोहोर जम्मै हट्छ। एकैछिनमा रंग लाग्छ। तीन दिनभित्र काठमाडौं झकिझकाउ हुन्छ। एलिजाबेथले भन्छिन्-कस्तो सुन्दर काठमाडौं! त्यो भनेको क्षमता हो। त्यसलाई अगाडि बढाउने र उत्सवमय बनाउने क्षमता वंशाणुगत रुपमा आउनुपर्छ। त्यसैले मसँग काठमाडौंलाई अगाडि बढाउन सक्ने क्षमता छ।
योजना त ठूलठूला सुनाउनुहुन्छ। त्यसका लागि पुँजीको व्यवस्थापन कसरी गर्नुहुन्छ?
अहिले काठमाडौं महानगरको ४८ अर्ब रुपैयाँ उठ्न बाँकी छ। उनीहरू तिर्न पनि तयार छन्, तर केही मान्छे लागेर उठ्न दिइरहेका छैनन्। मसँग हजार भन्दा बढी रिपोर्ट छन्। अप्ठ्यारो पनि छ। त्यो पैसा लिनसक्ने, जे पर्ला ब्यहोर्छु भन्ने मान्छे मेयर हुनुपर्छ।
निवर्तमान मेयर भूकम्पबाट क्षतीग्रस्त सम्पदाको पुर्ननिर्माणतिर लाग्नुपर्ने भयो। जसका कारण पुँजी वृद्धितर्फ लाग्न पाउनुभएन। अलि सजिलो भएर लाग्नु खोज्नु भएको थियो, कोरोना आयो। महामारीका वेला मान्छे जोगाउन जाने कि राजस्व बढाउन जान? कतिपय कुरा उहाँले भन्न जान्नुभएन होला। तर उहाँले यतिधेरै काम गर्नुभएको छ।
म त एउटा आन्दोलन गर्छु। काठमाडौं महानगरलाई चार अर्ब पैसा दिएर सबै शहर व्यवस्थापन गर भन्न मिल्दैन। यो उपत्यकाभरिको सबै मेयरले मलाई ४० अर्ब चाहियो भन्नुपर्छ। संघीय सरकारले त्यति पैसा नदिए म काठमाडौं बन्द गर्छु। सबैलाई आह्वान गर्छु।
तपाईका योजना कार्यान्वयन गर्न कर्मचारी प्रशासनबाट कत्तिको सहज छ?
खेलकूद परिषद्मा जाँदा मलाई केही थाहा थिएनँ। शरदचन्द्र शाहले बनाएको दरबार खालको नेपाली कांग्रेसले शासन गरेको कर्मचारीतन्त्र थियो। सात दिनपछि उनीहरूले सहयोग गरे। केही साथीहरू आए। उनीहरूले ‘सर, हामी यहाँबाट भाग्दिन्छम्’ भन्यो। संयोगले विदेशबाट प्रशिक्षणको निम्तो आयो। उनीहरू सबै प्रशिक्षणका लागि विदेश गए। कोही अमेरिका, कोही क्यानाडा गए, उतै बसे। अनि ठाउँ खाली भयो, मैले आफ्ना मान्छे राखेँ। अहिले म विदेश जाँदा उनीहरू स्वागत गर्छन। उनीहरू ‘तपाईले हामीलाई नभगाएको भए खेलकूद परिषद्को केही हजारको तलब थाप्नुपर्थ्यो’ भन्छन्।
त्यसकारण खेलकूद परिषद् जस्तो हिजोको कठोर ठाउँमा त म युवा अवस्थामा सम्हालेँ, महानगरपालिका त मैले सम्हालेकै हो नि। मसँग ‘ब्याकअप टिम’ पनि छ। मसँग फिट नहुनेहरू जान सक्छन्। कसैमाथि अन्याय गर्दिनँ, कसैलाई दण्डित गर्दिनँ, तर मेरो अनुकूलता आउनुपर्यो।
नयाँ पुस्ताका लागि स्थान बनाउनुपर्छ। विश्वको सिङ्गो ज्ञान भएको मान्छे बाहिर बस्ने, केही पनि थाहा नभएका मान्छे माडसाब बन्न पाइँदैन। त्यसैले मैले युवा इञ्जिनियर आऊ, युवा उद्यमी आऊ स्वास्थ्यको क्षेत्रमा काम गर्ने आऊ भनेको छु। अहिले हाम्रो पुस्ता काम लाग्दैन, काम गर्न सक्दैन। हामीले केही समयको लागि काम गर्ने हो।
महिला र पुरुष दुवैको कुरा गर्दै छु। म महिलालाई बढी विश्वास गर्छु। किनभने महिला इमान्दार हुन्छन्, उनीहरूले भ्रष्टाचार गरेको पाइँदैन। उनीहरू आउन् आफ्नो खुबी देखाउन्। अझ बराबरी भन्दा बढी महिला आएको हेर्न चाहान्छु। त्यसैले तपाई इमान्दार हुनुभयो भने सबैले सहयोग गर्छ। मैले नै गलत गरेपछि त मान्छेले विश्वास गर्दैन।
मेरो पहिलो हस्ताक्षरमा त्रिचन्द्रको पुनर्निर्माण हुनेछ। अहिलेको शैक्षिक प्रणालीलाई अलिकति परिवर्तन गर्नुपर्छ। अहिले त्रिचन्द्र त्रिचन्द्र जस्तो भएन। किनभने नेपाली कांग्रेसलाई जिम्मा लगाइयो, त्यो भताभुङ्ग भयो। त्यहीको उत्पादन कर्मचारीतन्त्रमा, सेनामा, प्रहरीमा छ। मैले त त्यहाँ पढेको होइन, तर त्रिचन्द्रको पुनःउत्थान गर्यो भने लाखौँ मान्छेमा नयाँ विश्वास हुन्छ।
मसँग धेरै योजना छन्। एक-एक गरेर कार्यान्वयन गर्छु। मान्छेलाई सन्तुष्ट बनाउन सक्छु। म अंकमाल गर्न सक्छु, म माफी माग्न सक्छु। राजनीतिमा यहि त क्षमता हुनुपर्ने होला। त्यति क्षमता म राख्छु। त्यसकारण मेयरको मैदानमा छु।