ओलीले कार्यकर्तालाई भने- मतगणना हुँदा आँखा झिमिक्क पनि पार्नुहुँदैन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको भोटलाई सुरक्षित गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार पोखरामा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले जनताले दिएको भोटलाई सुरक्षित गर्नु पहिलो प्राथमिकता भएको बताए। “जनताले भोट मात्र हालेर हुँदैन। तपाईंहरूले मतको रक्षा, सजक, संमयमित ढंगले गर्नुपर्छ,” ओलीले भने, “जबसम्म मत परिणाम आउँदैन, तबसम्म निदाउने मात्र हैन, आँखा झिमिक्क पनि पार्नुहुँदैन।”
पाँच दलीय गठबन्धनले भोटले नभएर मतपत्र च्यातेर, चपाएर र निलेर पनि जित्ने खोज्ने उनको आरोप थियो। “पाँच दलीय गठबन्धन भोटले जित्ने होइन, अघिल्लो पटक पनि हामीले भरतपुरमा हेरेका छौं। भोटले जित्ने हैन, भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने काम गर्नसक्छन्। यसकारण आँखा एक सेकेन्ड पनि भिमिक्क नगर्नुहोस्,” ओलीले भने।
गठबन्धन जसरी पनि चुनाव जित्ने प्रयत्न गरिरहेको उनको भनाइ थियो। “गठबन्धनलाई निर्वाचन जित्ने मात्र ध्याउन्ने छ,” उनले भने, “एमालेलाई निर्वाचन जित्ने मात्र हैन, लोकतन्त्र, संविधान जिताउन जिम्मेवारी पनि छ।”
एमाले कार्यकर्तालाई चनाखो भएर बस्न उनले निर्देशन दिए। “कसैले शान्ति सुरक्षामा खलल पर्न खोज्छ भने धाँदली गर्न खोज्छ भने बाँकस एकछिन पनि आँखाबाट उम्किन दिनुहुँदैन,” ओलीले भने, “पशुपतिमा गयौं भने फूलपाति चढाउन, मन्दिरमा जानुअघि फूलपाति बादरले खोसेर लान सक्छ। त्यहाँ एउटा वटा मात्र बादर हुन्छ, तर मतगणनाका वेला पाँच वटा बादर आउँछन् सक्छन्।”
उनले एमालेको विजय निश्चित भएको दाबी गरे। “एमाले विजयी भइसकेको छ। एउटा कर्मकाण्ड वैशाख ३० गते पुर्याउनुपर्छ, छाप लगाउनु पर्नेछ,” ओलीले भने।