मकवानपुरमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दुई जना घाइते
मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ। झडपमा दुई जना घाइते भएका छन्।
चुनावी प्रचारको विषयलाई लिएर बकैया गाउँपालिका–७ कत्लेखोलामा दुवै पार्टीका कार्यकर्ताबीच भएको थियो। विवाद बढ्दै गएपछि झडप भएको दुवै पक्षका स्थानीय नेताले बताएका छन्।
कांग्रेस कार्यकर्ताको कुटपिटबाट माओवादीको कत्लेखोला टोल कमिटीका अध्यक्ष विष्णु राई र राप्रपा गाउँ समिति उपाध्यक्ष हरि राई घाइते भएका छन्। नेपाली कांग्रेसका कार्यकर्ता रामबहादुर राई नेतृत्वको २०–२५ जनाको समूहले कुटपिट गरेको माओवादी मकवानपुरकी नेतृ लक्ष्मी माझीले बताइन्।
दुवै जना घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार माझीले बताइन्।
इलाका प्रहरी कार्यालय हात्तिसुडेका प्रहरी नायव निरीक्षक दमन तामाङले दुवै पक्षले कारबाहीको माग गर्दै निवेदन दिएको बताए। अहिले घाइतेको उपचार भइरहेको र उपचार पश्चात उनीहरूसँग बुझिने तामाङले बताए।
बकैयामा गाउँपालिकामा पाँच दलीय गठबन्धनबीच तालमेल हुन नसकेपछि छट्टाछुट्टै उम्मेदवारी दिएका थिए। पछि सहमति बनेपछि उम्मेदवारी फिर्ता लिएका थिए। त्यहि विषयलाई लिएर गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदै आएको थियो।