ओली सरकार रहेको भए नेपाल श्रीलंका भइसक्थ्यो: कांग्रेस
नेपाली कांग्रेसले नेत्री आरजु राणा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइको बचाउ गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याज एमालेले खाइरहेको उनको भनाइ छ।
एमाले अध्यक्ष ओलीले कांग्रेशलाई नीतिविहीन पार्टी भनेका थिए। त्यसको जवाफमा कांग्रेस प्रवक्ता महतले भने, “खोपमा त कमिसन खोज्ने ओली सरकाले विकासका नीतिको कुरा गर्न सुहाएन। झुटको राजनीति ओलीले मात्र गर्न सक्छन, हामी सक्दैनौं।”
प्रवक्ता महतले ओली सरकारको पालामा भएका विभिन्न काण्डको चर्चा गरे। उनले पत्रकार सम्मेलनमा ३३ किलो सुन काण्ड, वाइडबडी काण्ड, गुठी विधेयक काण्ड, सिण्डीकेट काण्ड, सुरेन्द्र यादव अपहारण काण्ड, सेक्युरिटी मेसिन खरीदमा भष्टचार काण्ड, रेल काण्ड, फास्टट्राक ठेक्का काण्ड लगायत काण्ड एमाले सरकारको पालामा भएको जिकिर गरे।
अहिलेसम्म ओली सरकार रहेको भए देश श्रीलंकाको बाटोमा पुगिसक्ने उनको भनाइ थियो। पूर्व अर्थमन्त्री समेत रहेका महतले भने, “अहिलेसम्म ओली सरकार रहेको भए भष्टचार र विदेशी ऋण लिएर नेपाल श्रीलंका भइसक्थ्यो।” कांग्रेस नेतृत्वको सरकारले विदेशी ऋणलाई कम गरेको र अनुदानमा जोड दिएको बताए।
महतले कांग्रेका केन्द्रीय सदस्य राणा र माओवादी अध्यक्ष दाहालले दिएको अभिव्यक्तिको पनि बचाउ गरे। “एमालेले अघिल्लो पटक आफूले नजितेको ठाउँमा दोस्रो दर्जाको नागरिक जसरी बजेट नै पठाएन,” राणाको अभिव्यक्तिमा स्पष्टीकरण दिँदै महतले भने, “कांग्रेसले जित्यो भने विकासका लागि बजेट सुनिश्चित हुन्छ भन्न खोजेको हो।”
त्यस्तै, माओवादीका दाहालले चितवनमा चुनावमा हारे देश दुर्घटनमा जान्छ भन्ने अभिव्यक्तिलाई गलत रुपमा टिप्पणी गरिएको महतको भनाइ थियो। दाहालले धम्की नदिएको बरू गठबन्धले हारे देशमा राम्रो काम गर्ने सरकार आउँदैन भन्न खोजेको महतको भनाइ थियो। “गठवन्धनले हारे ओली जस्ता सरकारमा आए भने खराव हुन्छ भन्न खोजेको हो,” उनले भने।
एमाले अध्यक्ष ओलीले गठबन्धन विरुद्ध मनोवैज्ञानिक प्रभाव पार्न खोजेको उनको आरोप थियो। “कांग्रेस र गठबन्धनलाई गाली गर्न ओलीले मनोवैज्ञानिक छेप्यास्त्र प्रहार गरिरहेका छन, तर यो लक्ष्यमा नपुग्दै बीचमा नै खस्नेछ,” महतले भने।