छिमेकीको खुशी खोसेको त्यो चुनाव
छिमेकी र मिल्ने साथीबीचको सम्बन्ध बिगारिदिने त्यही चुनावका कारण हो वा अन्य कुनै कारण‚ मैले अहिलेसम्म कुनै पनि चुनावमा भोट हालेको छैन। राजनीति मन पर्छ तर राजनीतिभित्रको यो अराजनीतिक खेल कहिल्यै मन परेन।
निर्वाचन नजिकिएसँगै गाउँमा नयाँ मान्छेको आवतजावत बाक्लिँदै छ। जब चुनाव आउँछ, खालखालका मान्छे गाउँबस्ती पस्न थाल्छन्। नेताहरू गाउँबस्ती पुगेर पार्टी प्रवेश गराउने लहर चलाउँछन्। यस्तो दृश्यले मलाई २०५४ सालको स्थानीय चुनावतिर पुर्याउँछ।
सुगम जिल्ला सुनसरीको एउटा दुर्गम गाउँ, चावाचा। राज्य पुनःसंरचनापछि बराहक्षेत्र गाविसको उक्त गाउँ नगरपालिका बन्यो। भलै त्यहाँ नगरमा हुनुपर्ने आधारभूत सुविधा छैन। आजभन्दा २५ वर्षअघिको झन कथै बेग्लै। हो, त्यसबेला पनि गाउँमा अहिले जसरी नै चुनाव आएको थियो।
चुनावका वेला नचिनेका मान्छेहरू चिरपरिचत झैं नमस्कार भन्दै, ढोग्दै कोसेली बोकेर गाउँ आउँथे। हामी चकित पर्थ्यौं। चार तारा भएको झन्डा बोकेका मान्छे आउँथे। गाउँलेलाई भेला गरेर भाषण ठोक्थे, “अब यो गाउँका मान्छेलाई खान लाउनको दुःख हुँदैन, घरघरमा बिजुली र पानीको धारा आउँछ...।” यस्ता कुरा सुनेर गाउँलेहरू मख्ख पर्थे। पर्रर ताली बजाउँथे। त्यसपछि गाउँलेहरूलाई लाइनमा उभ्याएर नेताहरूले टीका लगाइदिन्थे। आफ्नो पार्टीमा स्वागत गर्दै बाख्रा र सुँगुरका पाठा वितरण गर्थे।
गाउँलेलाई लाइनमा उभ्याएर अबिर लगाइदिन्थे र आफ्ना खातामा नाम टिपेर फर्किन्थे। राजनीतिको ‘र’ पनि नबुझेका गाउँलेहरू कहिले एउटा पार्टीका त कहिले अर्को पार्टीका कार्यकर्ता बनिसकेका हुन्थे।
केही दिनपछि हँसिया–हथौडा अङ्कित रातो झन्डा बोकेमा मान्छे आएर उसैगरी गाउँलेलाई भेला गर्थे। भाषण ठोक्थे, “अब यो गाउँमा कोही गरीब रहँदैन। सबैले रोजगारी पाउँछन्, विकास गाउँमै भित्रिन्छ। हामी गरीबको पार्टी हौं।” उनीहरूले पनि गाउँलेलाई लाइनमा उभ्याएर अबिर लगाइदिन्थे र आफ्ना खातामा नाम टिपेर फर्किन्थे। राजनीतिको ‘र’ पनि नबुझेका गाउँलेहरू कहिले एउटा पार्टीका त कहिले अर्को पार्टीका कार्यकर्ता बनिसकेका हुन्थे। केही दिनपछि तिनै पार्टी निकटका अखबारमा गाउँलेहरू अर्को पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गरेको समाचार छापिँदो रहेछ। जुनकुरा गाउँलेले निक्कैपछि मात्र चाल पाउँथे।
एक पटक चुनावको मुखमा सुजाता कोइरालालाई लिएर धरान र चतरा बजारका स्थानीय नेता, कार्यकर्ता हाम्रो गाउँ आए। उनीहरूले एउटा खातामा खै के के लेखे, के समिति गठन गरेर हामीलाई एउटा भलिबल र नेट दिएर गए। गाउँभरि हामी सबै आफन्तै आफन्त छौं। सात जना हजुरबुवाका सन्तानका करीब १५ घर छौं। तर, त्यही भलिबल हाम्रा लागि झगडाको बिउ बन्यो। हामी डाँडागाउँतिरका भलिबल आफ्नैतिर राख्न खोज्ने, गहिरीगाउँतिरका दाजुभाइ उतै लान खोज्ने। यही विषयमा हात हालाहाल नै भयो। नेताहरूले रोपिदिएको त्यो बिउले पछिसम्म पनि सम्बन्ध सुमधुर भएन। त्यसको बेग्लै कथा छ।
चुनावसम्म गाउँमा रमझम छाउँथ्यो‚ भोज चल्थ्यो, नाचगान हुन्थ्यो। तर‚ त्यसपछि वर्षौंसम्म गाउँलेका उही दुःख, उही उकाली ओराली। गाउँमा न धारा, न बिजुली, न रोजगारी।
वरिपरि जंगल, पातलो बस्ती भएको हाम्रो सानो गाउँ। गाडी कुद्ने कच्ची बाटो भेट्न झन्डै एक घन्टा हिँड्नु पर्थ्यो। बिहीवारे हाट भर्न जाने बाटो त दुई घन्टा टाढा थियो। गाउँलेहरूको मुख्य पेशा थियो गाई पालन। एक घन्टा हिँडेर दूध बेचेको पैसाले बिहीवारे हाटमा गएर नुनतेल किन्ने, फर्किएर जंगलमा गई घाँस काट्ने। गाउँलेको दैनिकी यस्तै यस्तै थियो।
गाउँमा स्कूल थिएन। नजिकैको स्कूल पुग्न डेढ घन्टा लाग्थ्यो। हामीभन्दा अघिका धेरैजसो केटाकेटी पढ्नुको साटो घाँस काट्न जंगल जान्थे। गाउँमा न बिजुली बत्ती थियो, न पानीको धारा। शिक्षा र स्वास्थ्य त टाढाकै कुरा भए। विकासको ‘व’ पनि नपुगेको भए पनि गाउँलेहरूका लागि यही गाउँ रमाइलो थियो। उनीहरू टाढा रहेका आफन्त र दाजुभाइलाई यही गाउँमा बसाइँ सरेर आउन आग्रह गर्थे। बोलाउँथे। उनीहरू भन्थे, “नजिकै जंगल छ, घाँसदाउरा गर्न सजिलो। अलिकति हिँडेपछि बजार पनि पुगिन्छ। दूध, अन्न, तरकारी बेच्न पनि सजिलो।”
गाउँमा हाम्रो सबैभन्दा नजिकका छिमेकी थिए, झाँक्री कटुवाल। एउटाका घरमा अलि ठूलो स्वरले बोलेको अर्काका घरमा सुनिन्थ्यो। छिमेकीमा गाईवस्तुका निउँमा, छोराछोरीको निउँमा सामान्य बाझाबाझ हुनु सामान्य नै हो। त्यसबाहेक छरछिमेकमा राम्रो मेलमिलाप थियो। हाम्रो घरमा मासु पाके झाँक्रीका घरमा पनि पुग्थ्यो। झाँक्रीका घरमा खिर पाके हाम्रो घरमा आइपुग्थ्यो।
गाउँमा भित्रिएको चुनावको लहरले हाम्रो परिवारलाई नछुने कुरै थिएन। गाउँमा कांग्रेसको पकड थियो। दुई चार घर मात्र कम्युनिस्ट थिए। कम्युनिस्ट पार्टीले गाउँमा 'मास्टर कान्छा' भनेर परिचित मेरा बुवालाई वडा सदस्यको उम्मेदवार बनायो। बुवाका धेरैजसो दाजुभाइ र आफन्त कांग्रेस थिए। उनीहरूका घरमा कांग्रेसको साना झन्डा राखिएका थिए। चुनाव लागेपछि नेताले हामीलाई ठूलो झन्डा दिए। बुवाले अग्लो बाँसमा हँसिया हथौडा अङ्कित रातो झन्डा बाँध्नुभयो र आँगनको छेउमा परैबाट देखिने गरी गाड्नुभयो। हावाको झड्कामा फरफर गर्दै झन्डा हल्लिएको आवाज उनै छिमेकी झाँक्रीको घरबाट प्रष्ट सुनिन्थ्यो।
झाँक्री पनि घर–घरमा झारफुक गरेर अनि गाउँमा देवी उतारेर चर्चित थिए। कांग्रेसले उनैलाई वडा सदस्यको टिकट दियो। झाँक्रीको घरमा पनि अग्लो बाँसमा चार तारा भएको झन्डा फर्फराउन थाल्यो, हाम्रो घरमा सुनिने गरी। हामी दुवै छिमेकी अब चुनाबी प्रतिद्वन्द्वी बनिसकेका थियौं।
तीन नम्बर ओखलढुङ्गाबाट मधेस कालाबञ्जार झरेको थियो हाम्रो परिवार। मेराे वुवा दाजुभाइमध्ये कान्छो हुनुहुन्छ। हाम्रो मधेस घरमा माथि चावाचा गाउँबाट ठूलो बुवाहरू आइरहनुहुन्थ्यो। त्यहाँ उहाँहरूको पनि जग्गा जमिन थियो। ठूलोबुवाहरूले बुवालाई भन्नुहुन्थ्यो‚ “मधेसमा गर्मी हुन्छ, मच्छड लाग्छ, हात्ती आउँछ। हाम्रा लागि त त्यही गाउँ राम्रो छ कान्छा।”
जमानामा म्याट्रिकसम्म पढेका र कलकता, भोटाङसम्म घुमेका बुवा पनि दाजुभाइहरू बस्ने त्यही गाउँमा हामीलाई लिएर घुम्दै फिर्दै पुग्नुभयो। गाउँमा स्कूल थिएन। बुवाकै अगुवाइमा गाउँलेहरूले जंगलबाट काठपात ल्याएर डाँडामा एउटा छाप्रो बनाए। गाउँका केटाकेटी जम्मा गरेर बुवाले त्यहीं पढाउन थाल्नुभयो।
पढाउन थालेपछि हाम्रा बुवा कान्छाबाट 'मास्टर कान्छा' नामले चिनिन थाल्नुभएकाे हाे। वास्तिवक नाम हाे, पुन्यबहादुर। निक्कै वर्षपछि गाउँको अलि माथि प्राथमिक विद्यालय खुल्यो। त्यसपछि बुवाले पढाउने अस्थायी स्कुल बन्द भयो। तर‚ बुवाको नाम सधैंका लागि मास्टर कान्छा रह्यो। पढाउन छाडेपछि बुवा गाउँका सामाजिक कामतिर लाग्नुभयो।
आफन्तहरू ओखलढुङ्गाबाट बसाइँ सरेर त्यही गाउँमा हाम्रा छिमेकी बन्न आए। त्यहीमध्ये एउटा थियो- झाँक्रीको परिवार। उनले हाम्रो बारीको छेउमा घर बनाए। बुवाले घर बनाउन एक कान्लो बारी छाडिदिनुभयो। बिरामी पर्दा झट्ट अस्पताल पुग्न असम्भव भएका बेला झारफुक गर्ने झाँक्री छिमेकी पाएकोमा हाम्रो परिवार पनि खुसी थियो।
खास नाम भीमबहादुर भए पनि गाउँमा उनको परिचय थियो‚ झाँक्री कटुवाल। कोही बिरामी पर्दा होस् कि कसैको गाईले दूध नदिंदा वा कुनै महिलालाई सुत्केरी व्यथाले च्याप्दा गाउँलेहरू उनैलाई सम्झिन्थे। उनले झारफुक गरेरपछि सबै ठीक हुने विश्वास गाउँलेमा थियो। गाउँमा न पशु उपचार गर्ने भेटनरी थियो न मान्छे उपचार गर्ने अस्पताल। बिरामी पर्दा गाउँलेका एकमात्र भरोसा उनै झाँक्री थिए।
परिवारको सुख शान्तिका लागि गाउँलेहरू वेलावेला झाँक्रीलाई चिन्ता बस्न घरमै बोलाउँथे। कसैको घरमा चिन्ता बस्न जानुपर्दा ढ्याङ्ग्रो, झ्याम्टा, धुपौरो बोकेर धुपौरेहरू अघि लाग्थे। धुपौरे प्रायः उनकै छोराहरू हुन्थे। कहिले काहीं म र गाउँका अन्य केटाहरू पनि धुपौरे हुन्थ्यौं। धुपाैरे अघि नै पुग्थे‚ झाँक्री चाहिँ शानका साथ लौरो टेक्दै बिस्तारै पुग्थे। गाउँमा उनको मानमतिनो नै बेग्लै हुन्थ्यो। चिन्ता बस्ने घरमा चोखोनितो गरेर झाँक्रीका लागि ठूलो गिलासमा दूध टक्र्याइन्थ्यो। उनका लागि खिर पाक्थ्यो। धुपौरे र ढ्याङ्ग्रो, झ्याम्टा बोक्नेले अलिअलि भाग भेट्थ्यौं। त्यसैले त पछि लाग्थ्यौं।
झाँक्री आफ्नै घरमा वर्षको एक दुई पटक रातभर चिन्ता बस्थे। हामीलाई खुब रमाइलो हुन्थ्यो। गाउँलेहरू जोखाना हेराउन रातभर जाग्राम बस्थे। उनले भने अनुसार‚ कसैले कुखुराको अन्डा मन्साउँथे, कसैले कालो भाले। झाँक्रीको जोखानामा गाउँलेहरूको ग्रहदशा मात्र होइन कहिले काहीं पुरै गाउँको कैरन आउँथ्यो। एकदिन त्यस्तै भयो। ढ्याङ्ग्रोको तालमा काम्दाकाम्दै झाँक्रीले भने, “हँ हेर, हँ मनुवा। हँ म, हँ यो, हँ ठाउँ, मौजाको, हँ रख्य, हँ गर्छु....।” त्यसपछि उनी एकछिन मुर्छा परे। धुपौरेले धूप थपे। उनी फेरि काम्न थाले।
झाँक्रीको मुखबाट निस्किएका भए पनि यी शब्द देउताले बोलेको ठान्थे गाउँलेहरू। किनकि‚ झाँक्री कामेपछि उनको शरीरमा देउता चढिसकेका हुन्थे र गाउँलेलाई ‘मनुवा’ भनेर सम्बोधन गर्थे। अरु बेला दाजु, भिनाजु, बडाबा, हजुरबा भन्नेहरू पनि धामी बसेका बेला झाँक्रीलाई ‘परमेश्वरी’ भनेर पुकार्थे। गाउँका बस्नेत माइला झाँक्रीको कुरा हल्का बुझे जसरी बोले, “लौ परमेश्वरी! हामीबाट के गल्ती भयो? दूधको दूध पानीको पानी छुट्याएर भनिदिनु पर्यो।” अरुले थपे, “हो परमेश्वरी हो।”
लामो समय ढ्याङ्ग्रो ठोक्दै काम्दा उनी बेलाबेला विश्राम लिएर चिया पिउँथे। विश्रामका बेला जिउबाट देउताले निस्किएर उनी मान्छे बनिसकेका हुन्थे। त्यहीवेला उनले देउताले गाउँ मन पराएको र यहीं उत्रिन खोजेको कुरा सुनाए। गाउँमै देउता उत्रिने भएपछि गाउँलेहरू खुसी भए। बुवाले सोध्नुभयो, “दाजु के गर्ने त? कसरी उतार्ने देउता?” झाँक्रीले भने, “कान्छा राम्रो तिथिमा रातभर पूजापाठ गरेर देउता उतार्नुपर्छ। मन्दिर बनाउनुपर्छ।” त्यसपछि झाँक्रीको जिउमा देउता चढ्यो‚ फेरि काम्न थाले। जोखाना थपिए।
त्यसपछि पनि झाँक्री धेरै घरमा धेरै पटक चिन्ता बसे। प्रायः चिन्तामा तिनै गाउँ मन पराउने देउता आउँथे। गाउँको रक्षा गर्ने कुरा गर्थे। यस्ता कुरा सुनेपछि गाउँले उत्साहित थिए। अर्को साल गुरु पूर्णिमाका दिन डाँडाको माइला ठूलोबुवाका घरमा धामी बस्ने र गैरीगाउँमा देउता निकाल्ने निधो भयो। नाम मोहन भए पनि डाँडामा घर भएकाले सबैले ठूलाबुवालाई डाँडाको माइला भन्थे। पूर्णिमाको अघिल्लो साँझ डाँडाका माइलाको घरको मझेरीमा लिपेर, सुनपानी छम्किएर चोखो बनाइयो। धुपौरेहरूले भुइँमा चिन्ता बस्ने ठाउँ तयार गरे। धुपौरोमा भर्खराउँदो कोइला राखेर त्यसमाथि सुनपाती, भैरुङपाती, तीतेपाती र धुपीका सुकेका पातको धूप हाले। धुवाँसँगै सुगन्धित बास्ना आउन थाल्यो।
झाँक्रीले मालिङ्गोको चोयाले बुनेको समान राख्ने डेलीबाट धामी बस्दा लगाउने ठाउँठाउँमा खुम्चिएको, मुजैभुजा भएको सेतो जामा झिकेर पहिरिए। टाउकोमा मयुरको प्वाँख उनिएको फेटा बेरे। गलामा सर्पको हाडको माला छड्के पारेर भिरे। त्यसपछि छेउमा बिछ्याइएको राडीमा बसे। त्यति वेलासम्म धुपौरे बनेका उनकै छोराहरूमध्ये एउटाले ढ्याङ्ग्रो र अर्काले झ्याम्टा ताल मिलाएर बजाउन सुरु गरिसकेका थिए। पलेँटी कसेर बसेका झाँक्रीलाई ढ्याङ्ग्रोको ढ्याङ्ढ्याङ् र झ्याम्टाको झ्यामझ्यामसँगै कम्पन छुट्न थाल्यो। खुट्टाबाट काम्न थालेका उनको शरीर पुरै काम्न थालेपछि धुपौरेको हातमा रहेको ढ्याङ्ग्रो खोसेर जोडजोडले ठोक्न थाले। एकैछिनमा उनको जिउमा देउता आए।
गाउँभरिका मान्छे जम्मा भएका थिए। उनीहरू देउता उत्रिएको हेर्न चाहन्थे। रातभर ढ्याङ्ग्रो, झ्याम्टा बजिरहे, झाँक्री कामिरहे। ‘मनुवा’ र ‘परमेश्वरी’का संवाद चलिरहे। बिहान भयो।
देउता उत्रिएको हेर्न रातभर बसेका केटाकेटीहरू भुइँतिरै निदाइरहेका थिए। ठूला मान्छे उठेर मुख धोए, धूप बाले र झाँक्रीसँगै देउता निकाल्ने ठाउँतिर लागे। झाँक्री काम्दै जता जान्छन्, गाउँलेहरू धूप बाल्दै उतै पछ्याउन थाले। हामी केटाकेटी पनि पछि लाग्यौं।
हरिबाउ भनेर चिनिने ठूलोबुवा भीमबहादुर र गीताबाउ भनेर चिनिने मणिकुमारको बारीको बीचमा पानी कुवा थियो। कुवाको छेउमा तिरतिरे धारो। झाँक्री त्यतै लागे। कुवा मास्तिरको झाडीमा डुम्रीको बोट थियो। झाँक्रीले पहिल्यै दूध आउने रुखको फेदमा देउता उत्रिने बताएका थिए। उनी डुम्रीको बोटतिर अघि बढेपछि उनलाई पछ्याइरहेका गाउँलेहरूले अनुमान लगाइहाले, देउता यतै छन्। नभन्दै डुम्रीको फेदमा झाँक्रीले त्रिशूल गाडे र मन्त्र फलाक्दै निक्कैबेर कामे। त्रिशूलले खनेर माटो पन्छाउँदै गए। अलि तल एउटा ढुंगो जस्तो चुच्चो आकृति देखियो। झाँक्री जोडजोडले काम्दै अबिर र फूल त्यसमा छर्न थाले। देवी उत्रिइन्। पानीको कुवामाथि उत्रिएकी देवीको नाम रह्यो, जलकन्या देवी।
हामी सानालाई खुब रमिता भयो। गाउँलेहरूले हतपत बाबियोको डोरी बाटे, त्यसमा बरपिपलका पात उने, फूलका थुँगा सिउरिए। त्यसलाई देवीको वरिपरि झुन्ड्याए। अघिसम्मको झाडी एकाएक देवस्थल बन्यो। सबैले फूल, धूप, दीप, फल र भेटी चढाए। मन्दिर बनाए। हामीले पनि नमस्कार गर्यौं।
गाउँमा देवी उतारेपछि झाँक्रीको शानमान अझै बढ्यो। दौरासुरुवाल, कालो भादगाउँले टोपी र कालै कोट, कम्मरमा खुकुरी, हातमा खुकुरी चुरोट लिएर गाउँतिर निस्किन्थे उनी। कुनै दिन खिर खान मन लागे गाउँमा निस्किएर “भरे छोरालाई पढाउँछु अलिकति दूध पठाइदिनु” भनेर फर्किन्थे। गाउँलेहरू खुसीले नै उनलाई दूध पठाइदिन्थे। किनकि‚ सारोगाह्रो पर्दा उनी हातमा अक्षता र सालधूप लिएर फुकिदिन तयार हुन्थे। वरपरका गाउँ र बजारतिर पनि उनलाई बिरामी देखाउन ल्याउने र लिन आउँथे।
झाँक्रीको घरको अँगेनामा सधैं चियाको कित्ली हुन्थ्यो। आगो बलिरहेको हुन्थ्यो। जो आए पनि चिया टक्र्याउँथिन् झँक्रिनी आमै। झाँक्रीका घरमा गफ गर्न गाउँलेहरू आइरहन्थे। हाम्रा बुवा त एकपटक नपुगेको दिनै हुँदैनथ्यो। खयरको काठ हालेको चिया पिउँदै झाँक्रीसँग गाईवस्तु, छोराछोरीदेखि गाउँले हुँदै देशको राजनीतिका कुरा गर्थे।
छिमेकी भएको केही समयदेखि नै हाम्रो र झाँक्रीको परिवार एकै परिवार जस्ता भइसकेका थिए। झाँक्री र बुवा आफूलाई दाजुभाइ मान्थे, ममी र झँक्रिनी ठूलोममी दिदी–बहिनी बनिसकेका थिए। हामी छोराछोरीको रासोबासो झनै गज्जबको थियो। सँगै खेल्ने, सँगै घाँस दाउरा जाने, सँगै पानी भर्न कुवामा जाने, स्कूल जाने। हामी राति पनि छुट्दैनथ्यौं। घरी वल्लो घर, घरी पल्लोघर बास हुन्थ्यो।
तर‚ गाउँमा पार्टीका मान्छे आएदेखि दुवै घरका मान्छेको मन बद्लिएको थियो। बुवा र झाँक्री दुवै गाउँ आएका नेताहरूको प्रभावमा परिसकेका थिए। उतिसारो राजनीति नबुझेका दुई छिमेकी विपरीत पार्टीका एउटै पदका उम्मेदवार बनेका थिए। पार्टीकै कारण मिल्ने छिमेकीबीच फाटो आयो। बोलचाल बन्द भयो। कतिपटक बाझाबाझ पनि भयो। बाबुआमालाई जस्तै हामी छोराछोरीलाई पनि ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ बीचको फरक थाहा थिएन। कांग्रेस भनेको रुख र कम्युनिस्ट भनेको सूर्य भन्ने मात्र थाहा थियो।
ठूला मान्छेको आउजाउ बन्द भएपछि हामीलाई पनि सँगै खेल्न अप्ठ्यारो भयो। गाउँमा कांग्रेसको प्यानलै चुनावमा लागेको थियो। कांग्रेस गढमा कम्युनिस्टले जित्ने अवस्था थिएन। त्यसपछि त्यही वडामा पर्ने अर्चले र जुगपाख्री गाउँको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी एकता भयो। अन्ततः चुनाब राप्रपा–एमालेको प्यानलले जित्यो।
चुनाव जिते पनि बुवाको मन खुसी थिएन। बुवा विजय जुलुसमा पनि हिँड्नु भएन। कारण छिमेकी र गाउँका दाजुभाइ बुवादेखि रिसाएका थिए। झाँक्री र हाम्रो त बारी आपसमा जोडिएका थिए। एकदिन बारी जोत्ने क्रममा सिमाना मिचिएको भन्दै झँक्रिनी आमै उफ्रिंदै आइन्। रिसले चुर हुँदै उनले भनिन्‚ “आँखा छैन? अर्काको बारीमा किन गोरू हुलेको?” बुवाले जवाफ फर्काउनुभयो, “अलिकति जोतिंदा त्यस्तो भन्नुपर्छ? मैले पनि कुनै बेला एउटा कान्लै दिएको थिएँ त?” झँक्रिनी आगो भइन् र बुवाको ढाडमा दाउराले बजारिन्। त्यसपछि दुवै परिवारको चर्को बाझाबाझ भयो। खासमा यो सिमाना मिचेको विषय मात्र थिएन, राजनीतिले रोपेको झगडा थियो।
दुई घरबीच २० पाइलाको फरक थियो तर चुनावपछि हाम्रा लागि २० कोस जत्तिकै टाढा भएका थिए। बारीमा काम गर्दा पनि एकले अर्कालाई नदेखे झैं गर्थे। दुई वर्षपछि बोलचाल त शुरू भयो तर सम्बन्ध पहिला जस्तो बन्न सकेन। छिमेकी र दाजुभाइसँग सम्बन्ध बिग्रिएका बुवाले खै किन हो पदमा छँदै पार्टीबाट राजीनामा दिनुभयो। अलिपछि झाँक्री गाउँबाटै बसाइँ सरेर टाढाको मधेस जनकपुरतिर गए। अन्ततः दुवै राजनीतिबाट टाढिए।
बुवालाई अहिले राजनीति खासै रुचि छैन। भोट दिन पनि करैले मात्र जानु हुन्छ। त्यसपछि बुवा गाउँकै खानेपानी समिति, विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन समितितिर सक्रिय हुनुभयो। सामुदायिक वनको नाम तिनै झाँक्रीले उतारेकी जलकन्या देवीको नामबाट छ, जलकन्या सामुदायिक वन उपभोक्ता समिति। उता झाँक्री पनि ढल्केबरतिर खेतीपातीमा लागेका छन् रे। पहिला राजनीतिका कारण हाम्रो सम्बन्ध टाढियो।
हो, त्यही समयदेखि मलाई पनि किन किन राजनीति मन परेन। छिमेकी र मिल्ने साथीबीचको सम्बन्ध बिगारिदिने त्यही चुनावका कारण हो वा अन्य कुनै कारण‚ मैले अहिलेसम्म कुनै पनि चुनावमा भोट हालेको छैन। राजनीति मन पर्छ तर राजनीतिभित्रको यो अराजनीतिक खेल कहिल्यै मन परेन। चुनावको नाममा एकअर्कालाई रक्ताम्य पारेको देख्दा मलाई त्यही घट्ना स्मरण हुन्छ।