स्वतन्त्र उम्मेदवारका लागि मत माग्दै दाहालले भने- बेइमानी र षड्यन्त्र स्वीकार्य छैन
प्रधानमन्त्री एवं नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवासँगै गठबन्धनको आमसभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कैलालीको कैलारी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारका लागि मत माग्दै कांग्रेसले धोका दिन थालेको आशंका गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनबीच तालमेल भएको छ। मेयरमा कांग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादीकी शान्ति अधिकारी उम्मेदवार छन्। कैलालीकै कैलारी गाउँपमालिकामा तालिमेल भत्किएको छ।
कैलारी गाउँपालिकामा माओवादीले अध्यक्षको उम्मेदवार र कांग्रेसले उपाध्यक्षको उम्मेदवार उठाउने सहमति भएको थियो। माओवादीबाट अध्यक्षमा लाजुराम चौधरी र कांग्रेसबाट उपाध्यक्षमा भगवती चौधरी उम्मेदवार छन्। माओवादीले जितेका वडामा माओवादी र कांग्रेसले जितेका वडामा कांग्रेसले वडाध्यक्षको उम्मेदवार उठाउने सहमति भएको थियो। तर, कांग्रेसको स्थानीय नेतृत्वले सबै वडामा उम्मेदवार उठाएपछि विवाद भएको थियो।
त्यसपछि कांग्रेसबाट राम समझ चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए। माओवादीले उम्मेदवार नबनाएपछि लक्ष्मी सत्यगैया थारूले उपाध्यक्षमा बागी उम्मेदवारी दिएकी थिइन्। उनलाई माओवादीले पार्टीबाट हटाएको विज्ञप्ति समेत निकालेको थियो। त्यस्तै, कैलारी वडा नं. ५, ६ र ९ मा माओवादीका स्थानीय नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
आज कैलारी पुगेका अध्यक्ष दाहालले स्वतन्त्र उम्मेदवारका लागि मत मागेका हुन्। कैलारीको हसुलियामा आयोजित आमसभालाई सम्बोधन गर्दै दाहालले प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ झुक्ने भन्ने नभएको जिकिर गरे।
चुनावी सभालाई सम्बोधन गर्दै दाहालले नेपाली कांग्रेसले गठबन्धनभित्र धोखा दिन थालेको आशंका लागेको बताए। “नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो। म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौ। उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ” दाहालले भने, “हाम्रा उम्मेदवारलाई विजय गराउन अपील गर्छु। हाम्रा लागि बेइमानी र षडन्त्र स्वीकार्य छैन।”
अझै कैलारी गाउँपालिकामा गठबन्धन स्पष्ट नभएको बताए। माओवादीले गठबन्धनको मर्म अनुसार उम्मेदवारी दिएको भए पनि कांग्रेसले पालना नगरेको उनको आरोप थियो। त्यसैले कैलारीमा प्राविधिक रुपमाले स्वतन्त्र उम्मेदवार बनेका माओवादी नेतालाई मत दिन दाहालले आग्रह गरे।
उनी धनगढीमा आयोजना हुने गठबन्धनको आमसभामा सहभागी हुन सुदूरपश्चिम पुगेका हुन्। उनले धनगढी, कञ्चनपुरको बेलौरी र डोटीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी कैलारीका अध्यक्ष बतासु चौधरीले बताए।